काठमाडौ–राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण नेपालको समस्या झन् चर्किदै गरेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री मोदी कुटनीतिक नेपालमा फेल भएको समेत दाबी गर्दै उनकै कारणले नेपाली जनताले दुःख पाइरहेको बताए ।मधेश आन्दोलनको बारेमा जानकारी गराउन तथा समर्थन जुटाउन सद्भावना पार्टीका नेताहरु विहारको राजधानी पटनास्थित लालु निवास पुगेपछि उनले त्यस्तो दावी गरेका हुन् ।
‘मधेशी जनता आफ्नो अधिकारका लागि लडि रहेको र त्यसले निकै दुख पाएको कुरा मलाई राम्री थाह छ तर यसमा मोदीजी मुख्य दोषी रहनु भएको छ,’ उनले भने, ‘मोदीजी नेपालका प्रधानमन्त्री ओलीलाई पनि उचाल्नु हुन्छ यता मधेशीलाई पनि उचाल्नु हुन्छ, यसले गर्दा दुवै पक्ष आआफ्नो अडान टसमस भएका छैनन् ।’
सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवको टोलीसँग आफ्नो निवासमा कुरा गर्दै लालुले भने, ‘कुरा एउटा हुनुपर्छ, दाहोरो कुरा हुनुहुँदैन, मधेशी जनतासँग अन्याय भएको छ भने मधेशी जनतासँगै रहनु पर्छ न कि कहिले सरकार पक्षको कुरा बोल्दिने त कहिले मधेशीको कुरा बोल्दिने त्यसले गर्दा समस्या सुल्झनु भन्दा झन बिग्रिएको छ ।’
नेपाल सरकारको मन्त्रीपरिषद्ले गरेको तीन बुँदे प्रस्तावलाई भारतले समर्थन गरेको प्रति उनको आपत्ति थियो ।
आफ्नो पूर्ण समर्थन मधेशीको पक्षमा रहेको र यसका लागि आफूले दिल्ली सरकारसँग पनि कुरा गर्ने प्रतिवद्धता जनाउँदै लालूले अधिकारको लडाईमा अगाडि बढ्न सुझाव दिएको नेता यादवले रातोपाटीलाई बताए ।
टोलीले लालु यादवलाई मात्र होइन कि विहारमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरुलाई पनि भेटेर फर्केका छन् । मधेशी मोर्चाका नेताहरु दिल्ली भ्रमणबाट फर्केपछि पनि समस्या जस्ताको त्यस्तै रहेको धारणा टोलीका नेता योगेन्द्र राय यादवले राखेका थिए ।
‘मधेश आन्दोलनको झण्डै पाँच महिना हुन थालेको छ तर नेपाल सरकारको सोच १९ बाट २० भएको छैन । दमन गरेर नै आन्दोलन रोक्न चाहेको देखिन्छ,’ भारतीय नेताहरुलाई ब्रिफ गर्दै नेता यादवले भनेका थिए, ‘वार्ताको नाममा पटक पटक मधेशी नेताहरुलाई बोलाउँछन् तर कुनै निष्कर्ष निस्किदैन’ । राज्यबाट नै मधेशमा विभिन्न भ्रमहरु छरेर आन्दोलनलाई साम्प्रदायी बनाउन खोजेको आरोप नेताहरुले लगाएका थिए ।
भाजपाका वरिष्ठ नेता सुशिल कुमार मोदीलाई पनि उनीहरुले भेटेका छन् । सो क्रममा उनले मधेशी जनतासँग अन्याय भएको भन्दै यस बारेमा आफूले प्रधानन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटेर कुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपालका समस्यालाई धेरै दिनसम्म लम्ब्याउनु नहुने र भारतले यसलाई कुटनीतिक रुपमा चाँडै समाधान गर्न पहल गर्नुपर्ने भन्दै यसका लागि आफूले भारतीय सरकारसँग कुरा गर्ने प्रतिवद्धता जनाएको नेता यादवले बताए
नेता मोदीले नयाँ सविधानमा मधेशीहरुको के के माग समटिएको छ, के समेटिएको छैन भन्ने लगायतको विषयमा पनि जिज्ञासा राखेका थिए । त्यसका बारेमा नेता योगेन्द्रराय यादवले प्रष्ट रुपमा कुराहरु राखेका थिए ।
उनीहरुले लालु र मोदीका साथै रघुवंश प्रसाद सिह, सुनिल कुमार, सजय सुरावगीलगायतका नेताहरुलाई भेटेर फर्केका छन् । अब उनीहरुले केही दिनमै भारत उत्तर प्रदेशको राजधानी लखनउ जाने तयारी गरिरहेका छन् ।
नेता यादवले भने, ‘मधेशको समस्या दिल्लीलाई बुझाउनु भन्दा विहार, उत्तर प्रदेश र झारखण्डका नेतालाई सम्झाउँदा प्रभावकारी हुने उद्देश्यका साथ हामीले भ्रमणलाई निरन्तरता दिएका छौ ।
0 Comments