टोकन नम्बर २२० र १०७

नब्बे दिन नाघिसकेको थियो । लामो समयको लकडाउन अनि बाँके जिल्लामा देखिएको कोरोनाको महामारी त्यसैमाथि बढ्दो सङ्क्रमण । जाने काम  परेतापनि शनिबार मात्रै पर्ने । शनिवार सरकारी कार्यालय नखुल्ने । त्यसैले बल्लतल्लत मोटरसाइकलको बिलबुक नवीकरण र कर बुझाउन समय निकालेँ ।

आफ्नो टोकनको पालो कुर्दै सेवाग्राहीहरु
कर बुझाउन, नवीकरण गर्ने दिन भनेको पनि एउटा उत्सव जस्तै हुने रहेछ । मानैँ कि त्योदिन दशैँ भन्दा पनि कम हुँदैन । बिहानैदेखिको चटारो । सम्पूर्ण नित्यकर्महरु सुसम्पन्न गरेर खाना खाइवरी तयारी भएर दश बजे नै पुग्ने गरी गुलरियाबाट नेपालगञ्जका लागि उडन भरेँ । कहिँ कतै पनि नभुलीकन पुगेँ तर ठ्याक्कै दश बजे भने पुग्न सकिन । मैले सोचेँ यातायात व्यवस्था विभागमा गत वर्ष जस्तै नै होला तर त्यसो रहेनछ । विधि र नीति अनि तौर तरिकाहरुमा वर्षेनी परिवर्तन हुने । नेपाल प्रयोगशाला नै हो जसले पनि हरेक नयाँ  आविश्कारहरु प्रयोग गरिरहने । परार साल करको पैसा बुझाउन सिधै लाइनमा बसेर बैंकमा बुझाउने अनि उता काउन्टरमा बिल काट्नका लागि भने मेशिनबाट टोकन प्रिन्ट गरेर लिनु पथ्र्यो जसमा पनि निकै धाँधली हुने आफै टोकन जथाभावी प्रिन्ट  गरेर निकाल्ने प्रचल थियो भने पोहोर साल टोकन प्रणाली नै असफल भएर हो या टोकन बिग्रिएर हो फेरी पुरानै पारामा फर्केको थियो अर्थात सबैतिर लाइन । 

अब यस वर्ष पनि त्यही त होला नि भनेर साडे दश भनेको त निकै चाँडो हो भन्दै पहिले नै भरेका फारामहरु लिएर बैंक भौचर मागी रकम भरेर लाइन लाग्दै थिएँ नजिकै एक जना चिनजानको मान्छे भेटिनुभयो । वहाँले भन्नुभयो कि, तपाईंको टोकन नम्बर कति हो ? म त झसङ्ग परेँ । टोक्कन नम्बर ? के हो यो टोकन ? कहाँबाट लिने ? कताबाट पाइन्छ ? मलाई त केही पनि थाहा नै छैन नि ! वहाँले त मलाई उल्टै केही गाली मिश्रित तरीकाले केही वाक्यहरु कोशेली दिनुभयो । यस्तो हुन्छ भन्ने थाहा थिएन र ? किन यति ढिला आएको ? म अवाक भएँ ! यस्तै हो रातारात विधिविधान र नीतिनियम फेरिने देशमा एक वर्ष सम्म त कायापलट हुने हो नि । म पनि निकै हुस्सु भएँ । अनि सोधेँ टोकन कहाँबाट लिने ? वहाँले भन्नु भयो बैंकको गार्डले दिन्छन् । मैले पनि टोकनका लागि याचना गरेँ । गार्डले पनि खै ! भन्ने हिनताप्रद शब्द प्रहार गर्दै मेरो फाराममा लेखिदिए दुई सय बिस (२२०) । अनि सोधँे यसको पालो  कहिले आउँछ ? उनले भने २ बजेपछि, अझै थप्दै गए नआउन पनि सक्छ आज त । आज जम्मा मात्रै हुन्छ भोलि बिहान तपाईंको काम हुन्छ, बिहानै आउनुहोला । ए बाबा हो ! कति तनाब, छोरालाई पनि साथमा लिएर गएको थिएँ । अघिका चिरपरिचित व्यक्तिले  भन्दै हुनुहुन्थ्यो, ‘यो सानु बाबुलाई किन ल्याएको यस्तो भिडभाडमा ? यति भन्दा नभन्दै मैले भने छोरालाई अलि परको एक होटल अगाडि अलग्गै राखेर आएँ । तर फेरि मन मानेन र सँगै लिएर आएँ । घडीले एघार बजेको संकेत दियो । दुई बजाउन भने अझै तीन घण्टा बाँकी छ तर पनि काम हुने नहुने कुनै टुङ्गो नै भएन । परिचित व्यक्ति भने गजक्क परेर मेरै नजिक हुनुहुन्थ्यो । 

सय भन्दा बढी बिचौलियाहरुको ओहोरदोहोर अनि सेवाग्राहीहरुको भिडले यातायात व्यवस्था विभागको कार्यालय कोरोना मुक्त जस्तो देखिन्थ्यो । उपाय केही नलागेपछि भने किंकर्तव्यविमुढ भएर भित्तामा टासिँएर बस्यौँ हामी बाबुछोरा । काम नपाएजस्तो गरेर तर भित्तामा लेखिएको थियो ‘आफ्नो काम आफै गर्नुहोला ।’ आँफै त गर्ने तर आँफै गर्ने तरीका के हो खै केही बुझ्न सकिएन । भएभरका टोकन जति पहिले नै विक्री भइसकेका रहेछन् ।

परिचित व्यक्ति मख्ख पर्दै भन्नुभयो, “मेरो त भित्र एउटी नानी चिनेकी थिईन्, उनैसँग हस्ताक्षर गराएर बुझाएको छु ।” यो कुरा सुन्दा झन् अब पुरै दिन जाने भयो भन्नेमा ढुक्क भएँ । अनि मैले भन्दै थिएँ फर्किन ढिला हुने भयो चिसो पनि बढ्ने भयो । यहि कुरा गर्दै जाँदा एक जना महिला जो नजिकै हुनुहुन्थ्यो मलाई सोध्नुभयो, ‘हजुर कहाँ जाने हो र ?’ मैले केही झुट बोलेर अलि दूरी बढाएँ, यसरी ठाउँको नाम भन्ने क्रममा वहाँको घर पनि त्यतै रहेछ । अनि सोध्नुभयो ठ्याक्कै घरको ठेगाना म इन्तुचिन्तु भएँ कहाँ भन्ने होला खै भनेर कुनै एउटा ठाउँको नाम मिल्दो गरी बताएँ । कुन्नी किन वहाँ त मसँग निकै नजिकिनुभयो । यस्तै हो चेलीलाई माइतीको कुकुर पनि प्यारो हुन्छ भन्थे हो रहेछ । ओहो हजुर त टाढा जानुपर्ने रहेछ मसँग त टोकन छ तर एक सय सन्ताउन्न नम्बरको छ । मनमनै सोचेँ, हो नि दुई सय बिस भन्दा त यो धेरै छिटो पो होला भन्ने सोचेर दिनुस् न त मलाई टोकन भनेँ । यसको पालो त आउँछ नि मैले भनेँ, वहाँले आउँछ भन्नुभयो । यो स्वीकारोक्तीमा पनि निश्चितता थिएन र म टोक्कन नम्बर दुई सय बिसकै पालो कुरिरहेँ । उता स्क्रोल नोटिसमा चल्दै थियो टेक्कन नम्बर सतासी, अठासी, उनानब्बे ...... ! यस्तै यस्तै । 

अवाक बनेर बसिरहेका थियौँ हामी बाउछोरा । यत्तिकैमा उनी महिला हत्तपत्त गर्दै आउनुभयो अब एक सय सात टोक्कन पनि छ लिनुहुन्छ दाइ ? अब मनमा थोरै आशिंक आश पलायो । ओहो! मर्नुभन्दा त बहुलाउनुु जाति भनेर यो त भ्रष्ट्राचार पक्कै हैन नभए त यी यातायातको कार्यालय परिसर बाहिर भएका सयकै संख्यामा रहेका बिचौलियाहरुलाई अख्तियारले लैजाँदोहो वा कारवाही गर्दो हो । यति कुरा मनमा खेलाएँ अनि सुम्पिएँ फाराम उनै महिलालाई जसले मलाई माइती देशकै दाइजस्तो सम्झेर केही क्षणमै एक सय सन्ताउन्नलाई एक सय सातमा रुपान्तरित गर्नुभयो । अब सबै काजतात सुम्पेर म भनेँ बजार तिरका छिटपुट कामहरु गर्न गएँ । करिब दुई घण्टा विताएर फर्किँदा त बैंकको काम सकिएको रहेछ अनि उता काउन्टरमा रसिद काट्ने काम हुँदै रहेछ । त्यहाँँको भिडभाड देखेर लाग्यो नेपालबाट कोरोना भन्ने भाइरस परदेश गइसकेको रहेछ । परिचित व्यक्ति त्यहाँ हुनुहुँदो रहेनछ । धेरै पछि वहाँसँग भेट हुँदा भन्नुभयो, मेरो नि त्यो दिन मेरो काम भएन अर्को दिन गएर गरेँ । 

यातायात कार्यालयको पछाडी रसिद लिने पालो पर्खिँदै सेवाग्राहीहरु
भित्रबाट केही बेरमा नम्बर बोलाइयो भे ७ प ५५९९ । अनि रसिद दिएर केही बेरमै आधिकारीक हस्ताक्षर र छाप लगाएर मलाई ब्लु बुक थमाउनुभयो बदलामा मैले वहाँलाई केही रकम थमाएँ । भन्दै हुनुहुन्थ्यो भयो भो आफ्नै मान्छे हजुर के लिनु र तर पनि वहाँको जिविकोपार्जन अनि साँझको छाकमा असहयोग गर्न सकिन र केही भएपनि सहयोग गर्न पाएकोमा मनमनै सन्तुष्ट हुँदै त्यहाँबाट फर्किँदा चार बजिसकेको थियो । 

समय प्रविधिको समय छ । अहिले हामी टेलिफोन, विद्युत, रिजार्च, बसको टिकट, हवाइजहाजको टिकट मात्रै हैन सजिलैसँग इ–ट्रान्सर्फर गरेर मज्जाले पैसाको कारोबार गर्न सकिरहेका छौँ । अधिकाँश सवारी चालउनेहरु इन्टरनेट पनि चलाउँछन् । तर देशकै विडम्बना वा के भनौँ कर तथा नवीकरण वापतको पैसा बुझाउन अझै पनि नेपालमा यस्तो तनाव छ । अबको समयमा यसरी सिधै पैसा बुझाउनुपनर््े कार्यालयहरुमा अनलाइन पेमेन्ट गर्ने व्यवस्था गर्नु आवश्यक छ । हो, यसो गर्दा कसैको रोजगारी गुम्न सक्छ तर पनि रोजगारी भनेको मानिसले विकल्प खोज्दै जाने हो । समय अनुुसार आफूलाई परिवर्तन गर्न सकेमा र मिहिनेत र लगनका साथ काम गरेमा जता पनि कमाउन सकिन्छ । अझ स्वनिर्भरता पनि बढ्छ । 

तसर्थ, प्रविधिको उच्चतम् प्रयोग गर्दै सरकारले यसरी कर तथा अन्य सेवाहरुका शुल्कहरु बुझाउनका लागि अनलाइन प्रणालीको व्यवस्था गर्ने हो भने पैसा, श्रम र समय सबै कुरा बचत हुन जाँदा त्यो लगानी, श्रम अनि समय घर परिवार अनि समाज तथा आफू आवद्ध सम्बद्ध संस्थाहरुमा दिँदा कति राम्रो हुँदो हो ? यसो बिचार गरौँ त !

जय होस् ।


Post a Comment

0 Comments