मञ्च : जब देख्छन् भक्तले आफ्नै श्रीमतीसँग स्वामीको लीला…

 धर्मको नाममा मानिस भ्रममा पर्नु र ठगिनु नौलो घटना होइन । शदियौंदेखि धार्मिक आडम्बरले संसारलाई नै जकडिराखेको छ । त्यसैले दार्शनिक कार्ल माक्र्स भने, ‘धर्म अफिम हो ।’ त्यसअघि नै फ्रान्सेली नाटककार मोलियरले धर्मको खोलमा हुने अपराध र कुकृत्यको भण्डाफोर गर्दै नाटक लेखिसकेका थिए । तार्तुफ त्यस्तै एउटा नाटक हो । जसको मञ्चनमा राजा लुइस चौधौंले प्रतिबन्ध लगाएका थिए । नाटककै कारण मोलियर शरीर गाड्न चर्चका पादरीले बन्देज लगाएका थिए ।



चारसय बर्षपछि पनि धर्मको खोलमा हुने अपराध र कुकृत्यमा कमी आएको छैन, मात्रै स्वरूप केही परिवर्तन भएका छन् । नेपालमा पनि त्यस्ता घटना भइरहन्छन् । मोलियरले क्रिश्चिियन धर्मको खोलमा देखेका अपराध र कुकृत्य नेपालजस्ता देशमा हिन्दुलगायतका धर्मको खोलमा हुने गरेका छन् । त्यही सान्दर्भिकता र समानतालाई मध्यनजर गरेर अहिले राजधानीको शिल्पी थिएटरमा मोलियरको नाटक तार्तुफ मञ्चन भइरहेको छ । नाटकलाई नेपाली रूपान्तरण गरेका छन् मेघराज अधिकारीले । नाटकको नेपालीकृत नाम हो– झलेन्द्रप्रसादको लीला । नाटक निर्देशन गरेका छन् गंगाप्रसाद तिवारीले ।


यसअघि मंसिर २० गतेसम्म मञ्चन भएको नाटक पुषको १७ गतेदेखि पुनःमञ्चन भइरहेको छ । नाटकमा झलेन्द्रप्रसादको भूमिकामा शिल्पीका निर्देशक घिमिरे युवराज जमेका छन् । कविता आले, जीवन बराल, पवित्रा खड्का, बादल भट्ट, सोनाम लामा, सन्ध्या भट्टराई, प्रभाष घिमिरे, सरिता शाह, सम्रान्त थापा, सविन कट्टेल र ओवश्वी भट्टराईको जीवन्त अभिनयले नाटकलाई बलियो बनाएको छ । भव्य सेटमा मञ्चन भइरहेको नाटकले धर्मको होइन, धार्मिक आडम्बर र त्यसको खोलमा हुने अपराध र कुकृत्यको भण्डाफोर गर्छ ।




आफूलाई पवित्र धार्मिक गुरूको रूपमा स्वीकार गरी आश्रय दिएर दिनरात सेवा गर्ने खगेन्द्रलाई कसरी झलेन्द्रप्रसादले ठग्छ र सडकमा पुर्याइदिन्छ भन्ने कथाले नाटकलाई रोचक र संवेदनायुक्त दुवै बनाएको छ । आफ्नो छोरीसमेत स्वामीलाई सुम्पन तयार भएको भक्तको श्रीमतिसँग झलेन्द्रले रासलीलाको अनेक प्रयत्न त गर्छ नै, धर्मान्धताको फाइदा उठाउँदै सम्पूर्ण सम्पत्तिसमेत हडप्छ । जसले धर्म र अन्य नाममा हुने पाखण्डप्रति तीव्र घृणा जन्माउँछ । मोलियरले नाटकमा आडम्बरी धर्मभिरूलाई राजाले दण्ड दिएको दृश्य लेखेका छन् । तर यहाँ भने त्यो दृश्य समावेश छैन । शिल्पीका निर्देशक युवराजको तर्क छ, ‘त्यस्ता अपराधीले नेपालमा दण्डको पाएका छैनन्, खुलेयाम घुमेर हिँडिरहेका छन् । त्यसैले हाम्रो परिवेशमा त्यो दृश्य स्वाभाविक छैन ।’ राज्य र सरोकार निकायलाई यो कलात्मक चुनौति हो ।

नाटकलाई नेपाली शैली दिन अनुवादक र निर्देशकले गरेको मिहिनेत प्रष्ट देखिन्छ । कुमार आलेले तारिफयोग्य मञ्च परिकल्पना गरेका छन् । अंकितबाबु अधिकारीको संगीत र श्वरमा बज्ने भूपेन्द्र खड्काको ‘कहिले पाप कहिले धर्मले लुट्छ यो जिन्दगी’ गीतले नाटकको भावलाई अझ तिख्खर पारेको छ । त्यसमा शुभबहादुर सुनामको सेक्सोफोन र शीलाबहादुरको संगीत संयोजनले नाटकको प्रभाव तेज गराउँछ । नाटकप्रेमीले छुटाउनै नहुने सूचीमा पर्ने यो नाटक पुष महिनाभर मंगलबारबाहेकका दिन ४ः३० मा मञ्चन हुनेछ ।

Post a Comment

0 Comments