मणिकी भुण्टी, जन्मिएकी कुटी !

समीक्षक : प्रभात सुवेदी


एउटा  चेतना अनि त्यसभित्र बलिरहेको मधुरो प्रकाशसहितको दीयो । हो, त्यही दीयो बलुन्जेलसम्मका लागि नै यो अस्थिर मन के के गरौँ भन्छ, अनि आफ्नो परिचय स्थापित गरौँ भन्छ, दुनियाँलाई आफ्ना गतिविधीहरू देखाउँ, सुनाउँ भन्छ फलस्वरुप केही आयामिक गतिविधीहरुमा संलग्न हुन्छ । यस प्रकारका संलग्नताहरुका अनुभवहरूलाई आफैसँग मात्र सिमित गर्दा पनि अस्थिर मनले सन्तुष्टी प्राप्त नगर्ने भएकाले कुतकुतीरहन्छ र पाकेको चामल जस्तै सकभर चरेसको थालमा नभएपनि स्टिलकै थालमा भएपनि पस्कुँ पस्कुँ लागिरहदो रहेछ र पस्किन्छ पनि र स्वादको जिम्मा भने ग्रहणकर्तालाई नै जिम्मा दिन्छ ।

विगतदेखि नै निकै उर्वर रहेको मध्यपश्चिम क्षेत्र अबको लुुम्बिनी प्रदेशको भर्भराउँदो साहत्यिक चेतनाहरूका छठाहरू बग्रेल्ती छचल्किरहेका छन् । यसै क्रममा बाँके र बर्दियालाई सिर्जनाको कर्मथलो बनाएर साहित्यिक साधनामा लागिरहेका र आफूलाई साहित्य अनुरागी भन्न मन पराउने मणि अर्यालले सुटुक्क कुटी जन्माउनै भनेर भुण्टीसँग कुटीमै प्रेरणरुपी सहवास गरे जसको फलस्वरुप निकै लामो गर्भावस्था अनि प्रसव पीडापछि अन्ततः बिना सर्जरी प्राकृतिक रुपमै जन्मियो “कुटी” । अझ यसलाई सांस्कारिक बनाउने काम भने नेपालगञ्जीया समकालीन दौँतरीद्वारा भएको भन्न समेत पछि परेको छैनन् उनी । पूर्वीय दर्शनका शास्त्रहरू पनि यसैगरी कुटीमै जन्मे, कुटीमै लेखिए अनि कुटीमै परिस्कृत भए भन्दै उनले आफूभित्र भएको साहित्यको अनुरागलाई कुटीको स्वरुपमा जन्माएका हुन् ।

आफ्नै कृति पनि आफूसँग सिमित प्रति मात्रै  रहेको जानकारी दिनुभएपछि मलाई पनि वि.सं. २०५८ सालमा निकालेको लोक तथा दोहोरी गीतको एल्बम “पिपलु चौतारी” कैलालीको अत्तरीयामा जाँदा एउटा पसलबाट किनेर ल्याएको अझै पनि सम्झना छ र त्यो क्यासेट चक्का अझै पनि मसँग सुरक्षित रहेको छ । त्यसमा साइड ‘ए’ मा विरही कान्छा र शर्मीला गुरुङको स्वरमा मेरो सिर्जनाको पिपलु चौतारी र साइड ‘बि’ मा भने मेरो र बिमा कुमारी दुराको आवाज रहेको ‘चरी जुरेली’ गीतलाई समेटेको थिएँ । वहाँले पनि गुलरियाका तीन जना आफ्ना हितैषी साहित्यअनुरागीलाई पालैपालो पढ्नका लागि एउटा कुटी पठाउनु भएकोमा मणि शर्मा सरले आफूले पढेपछि मलाई पढ्नका लागि दिनुभएको हो । अझ मैले पनि अध्ययन गरेपछि एक अर्का सर्जक तथा साहित्य अनुरागीलाई दिनु पर्ने जिम्मा छ । यस कृतिमा रहेका केही निबन्धहरु पहिले नै अध्ययन गर्ने मौका पाएको थिएँ । पुस्तकै रुपमा पढ्दा भने अलि बेग्लै अनुभुती भयो ।

आज पहिलोपटक एउटा धृष्टता गर्दैछु । यसरी लेखनमा निखारिएका, प्रगतिवादी सोचका धरोहर अनि आफूलाई नविन प्रयोगमा सदा लगाइरहन मन पराउने ओझिला व्यक्तित्व मणि अर्यालकृत कृति ‘कुटी’ को समालोचना वा समीक्षा गर्ने हैसियत म कुनै पनि कोणबाट राख्दिन किनकी यो विषयमा मलाई कुनै पनि अनुभव नै छैन र यसरी समीक्षा अहिलेसम्म लेखेको पनि छैन । सायद मैले जसरी लेख्दैछु यो ढाँचा एक रौँ पनि मिलेको छैन । त्यसैले यो समालोचना वा समीक्षा नभएर कृति पढेपछिको अनुभूतिका रुपमा यहाँहरुले बुझिदिनुहुन आग्रह सहित कुटीभित्र पस्न लेखकसँग अनुमति माग्दै दैलो ढक्ढक्याउँछु ।

यूरेका पब्लिकेसन प्रा.लि. काठमाडौंले प्रकाशनको जिम्मा लिएको यो निबन्ध सङ््ग्रहमा समेटिएका ‘गुरु भेट’, ‘होटल हाइवे’, ‘मधुशाला’, ‘मेरो गाउँ’, ‘मित्र संवाद’, ‘कुटी’, ‘नेपालगञ्ज’, ‘प्यान्थर’, ‘पसिनाको स्वाद’, ‘रिस’, ‘सम्झनामा इन्दबहादुर राई’ गरी एघारओटा निबन्धहरू छयासी पेजमा संग्रहित गरिएका छन् । यी निबन्धहरूमध्ये मैले केही निबन्धहरु पहिले नै केही पत्रिकाहरुमा प्रकाशित हुँदा नै पढिसकेको थिएँ । पुरु लम्सालको आवरण चित्रमा सजिएको यसको आवरणपृष्टले कृतिको नामलाई सार्थक बनाएको छ । त्यसैगरी यस कृतिको आवरण पृष्ठ तथा पानाका गुणस्तर अत्यन्तै सुन्दर रहेको छ । यस अर्थमा भन्नुपर्दा यस कृतिको बाहिरी स्वरुप अत्यन्तै सुन्दर रहेको छ ।

अब कुरा गरौँ आन्तरिक अनुभूतिका बारेमा । कुन्नी किन हो मलाई शुरुकै निबन्ध ‘गुरु भेट’ ले निकै नै प्रभावित बनायो । सायद मेरो नूनपानीको जोहो गर्ने कर्म नै यहि भएर पनि होला । करिब दुई दशक सरकारी र एक दशक जति निजी विद्यालयहरुमा अध्ययन गराएका ती पलहरु यो निबन्धले सम्झाइदिए । अझ यसमा भएको विषयवस्तु मेरा आफ्नै पनि भोगाई हो । कुनैबेलो विद्यालयलाई वास्तविक सरस्वतीकै मन्दिर बनाउन गरेको आग्रहका कारणले गर्दा जीवनमै बडो तीतो अनुभूतीहरु भोग्नु परेको थियो । जसका प्रमाणहरु आजसम्म पनि सुरक्षित छन् । त्यतिबेला साथ दिने केही नहुँदा अब शिक्षण पेशा गर्दिन भनेर राजीनामा समेत लेखेको थिएँ मैले । अनि लाग्यो दुनियाका लागि म तर आफैलाई पर्दा कोही न कोही अनि बुझेँ कि संसारमा कसैका लागि कोही पनि रहेनछ ।  हो, शैक्षिक क्षेत्रमा यस प्रकारका विकृति र रवैयाहरु अझैपनि व्याप्त छन् । जसका कारण सरकारी विद्यालयहरु उँभो लाग्न सकेका छैनन् । त्यहाँ हेर्ने दृष्टिकोण, गरिने व्यबहार अनि पक्ष, प्रतिपक्ष जस्तै खेलो र केही गरौँ भन्नेहरुका लागि बेलाबेलामा अचानो बनाउने प्रवृत्ति भने चलिरहेको छ । घरिघरि त चिकित्सा क्षेत्रमा व्याप्त बेथितिका विरुद्ध गोविन्द के.सी.ले जस्तै अनसन बसेर ज्यानै उत्सर्ग गरौँ भन्ने लाग्छ । सामुदायिक विद्याललयमा हुने बेथितीहरु यहि निबन्धमा लेखिएजस्तै हो । यो सत्य पनि हो । सत्यता कहिल्यै पनि छिप्दैन । ढिलोचाँडो उदाङ्गो भैहाल्छ । यसरी उदाङ्गिएका घटनाहरु पनि त देखिएकै छ । त्यसैले नकारात्मक सोच र स्वार्थलाई जोडेर शैक्षिक क्षेत्रलाई नै धमिल्याउने प्रवृत्ति भएका गुरुहरुले मणि अर्याल जस्ता व्यवस्थापन समितिका अध्यक्ष्यहरुले निरन्तर भेट पाइरहनू पर्छ ।

अब लागौँ ‘होटल हाइवे’ तिर । यो प्रतिकात्मक निबन्धले पनि नेपालको वास्तविकतालाई चित्रण गरेको छ । वास्तवमा तपाईंहामी जो रात्री बसमा सार्वजनिक सवारी साधनमा यात्रा गर्छौँ सबैले भोगेको कुरा नै हो । रात्रीको समयमा खाना खानका लागि यस्तो स्थानमा गाडीका कर्मचारीहरुले लैजान्छन् कि त्यस्ता होटलहरुमा गाडी मालिककै लगानी हुन्छ या त चिनेजानेका हुन्छन् या त कुनै खेलोमेलो हुन्छ । जहाँ लैजान्छन् त्यस स्थानमा एउटा मात्रै होटल हुन्छ । यात्रुलाई कुनै पनि विकल्प नदिइकन खाए खा नखाए घिच बनाइदिन्छन् । एकातिर यात्राले थकित अर्कातिर भोकप्यासले ग्रसित यात्रुहरु नखाए पनि नुहने खाएपनि नहुने अवस्था भैदिन्छ । उता गाडिका स्टाफहरुलाई भने स्टाफ खाना भनेर विशेष भोजन व्यवस्था भइरहको हुन्छ । अझ उनीहरुलाई हरेक प्रकारका सुविधाहरु हुन्छन् भने यात्रुहरुलाई यहाँ लेख्नै नमिल्लने प्रकारले खाना दिइन्छ । अझ निबन्धमा उल्लेख भएको यो प्रसङ्गले त मेरो मन छोयो र जस्ताको तस्तै साभार पनि गरेको छु ः–

“बाबु, हाफ प्लेट खाना  पाइन्छ । औषधि खानको लागि हो । खालीपेट नखानुु भनेका छन् डाक्टरले । यात्रुतिरको टेबलबाट आएको एक बृद्ध आमाको बोलीले छातीमा गोली लागेजस्तो भयो । खानुहुन्छ भने पूरा खानोस् । हैन भने हाफसाफ पाइँदैन । होटलवाला झर्कियो ।

लाग्छ यो प्रसङ्ग कुनै बनावटी पनि हैन । यथार्थ हो मेरो भोगाइ हो अनि तपाईंको भोगाई हो, हामी सबैको भोगाई हो ।

अर्को निबन्ध ‘मधुशाला’ मा भने नेपाली युवा युवतीका रहरहरु वाद्यतामा परिणत हुँदाका अवस्थालाई चित्रण गरिएको सामाजिक यथार्थता हो । जसमा आफूले सहरमा गएर पढाइलेखाई तथा अन्य आधारभूत आवश्यकता पूरा गर्नका लागि पैसाको जोहो गर्न रातभरी रेष्टुरेन्टमाा काम गर्ने र दिनमा आफ्नो अध्ययन तथा अन्य कामहरु गर्नु पर्ने वाद्यात्मक अवस्थाका बारेमा बडो सुन्दर ढङ्गले चित्रण गरिएको छ ।

अर्को निबन्ध ‘मेरो गाउँ’ मा लेखक अर्याल आफ्नै गाउँठाउँ र परिवेशमा लिप्त ुहँदै त्यहीँ हराउन चाहेको छन् । तर गाउँगाउँमा छ्याप्छ्याप्ती विकृतिहरु मौलाउँदै गएको कुरा यस निबन्धमा उल्लेख गरिएको यो मोटो बुद्धिले ठम्याएको छ । खबरदारी गर्ने कसले ? जनताको नजरमा एउटै निकाय छ त्यो हो सञ्चार वा सञ्चारकर्मीहरू । यहाँ अब सञ्चारकर्मीहरु पनिन कलुशित भैसकेको कुरा यस निबन्धको सार बुझेको छु । हुन पनि हो जुन निकायका गतिविधीहरुलाई खबरदारी गर्ने हो त्यहि निकायमा नै सञ्चारकर्मीहरु प्रेस सल्लाहकार हुन्छ्न् र नूनको सोझो गर्छन् अनि कहाँबाट सार्वजनिक हुन्छन् र त्यहाँका बेथितीहरु । यस्तै छ यहाँ । सामाजिक विकृतिका विरुद्धमा आवाज उठाइदेला भनेर आफ्नै गाउँको पत्रकार साथीलाई निकै विश्वास गरेर अनुरोध गर्दा त परिणाम त सोचेको भन्दा ठिक विपरित पो भयो ।

यसैगरी अर्को निवन्ध ‘मित्र संवाद’ ले भने लेखकले आफ्नो कृतिलाई दह«ै तरिकाले पिलर दिएका छन् । यसमा खासगरी कुनै पनि सर्जकले कुनै पनि सिर्जनाका लागि भने निकै गहन तरीकाले अध्ययन गरेर मात्रै सिर्जना गर्नुपर्ने विषयमा बडो सुन्दर तरीकाले आफ्नै मित्रसँगको चिया गफकै परिधीमा रहेर निदृष्ट  मापोका साथ अर्धव्यासमा छलफल गर्दै आफ्नै कुटीको वरिपरी घुमिरहेका छन् ।

अब कुरा गरौँ यस कृतिको शीर्ष निबन्ध जुन निबन्धकै शीर्षकले यो कृतिको नामाकरण गरिएको छ । ‘कुटी’ यो शब्द सुन्नासाथ कुनै आध्यात्मिक विषय हो कि झैं लाग्ने गर्दछ तर त्यसो हैन कुटी एउटा यस्तो एकान्तबास हो जहाँबाट सिर्जनका मूलहरु फुट्ने गर्दछन् । उनले बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलाको किनारमा रहेको आफ्नै स्वनिवासलाई नै कुटीको संज्ञा दिएका छन् । आफ्नै कुटी अर्थात ‘अर्यालकुटी’ जहाँबाट आफ्नो संस्कारदेखि जीवनाभूतिका तरङ्गहरु तरङ्गित भए यसकै वरिपरी रहेर आफ्नो कुटीलाई गर्वका साथ एउटा भब्य रिसोर्टको रुपमा तुलना गरेका छन् । याृ कुटी ऐतिहासिक भएको र नेपालगञ्जिया साहित्यिक सर्जकहरुको निरन्तर आगमन र तारिफका लागि प्रसस्तै शब्द खर्चिएका छन् उनले जुन निकै सान्दर्भिक पनि छ । किनकी यो मोटो बुद्धि भएको मान्छे पनि धेरै त हैन साङ्गितकि सहकार्य तथा भेटघाटका क्रममा धेरै त हैन मात्र दुईपटक पुगेको छ अर्याल कुटीमा त्यही भएर सायद अरुको जस्तो गनोटमा परेनछ । जहाँ निकै आनन्दित स्थान सहितको बाग रहेको छ । हरेक वृक्षहरुको सजावट तथा हरियालीले जो कोहीको पनि मन तानिहाल्छ अर्याल कुटीले । हार्दिक नमन अनि सम्मान छ कुटी निर्माता वहाँका मातापिता, दाजुभाइ अनि वहाँकी  प्रिय जीवनसङ्गीनीप्रति ।  

नेपालगञ्ज निबन्ध भने नेपालगञ्जमा बसेर साहित्यको सिर्जनामा लाग्नुभएका विभिन्न समकालीन तथा वर्तमानका सर्जकहरुको दस्तावेज बनेको छ । साहित्यसँग जोडिएर आउने शब्द हुन् साहित्य, सङ्गीत र कला । त्यसैले यस क्षेत्रमा रहेका यिनै विधाका केही व्यक्तित्वहरुको नाम नछुटाएको भए अझै सुन्दर हुन्थ्यो होला अनि अर्को कुरा आफूलाई परिचय दिने क्रममा बाँके र बर्दियाको सिमानमा रहेको कुटी भन्दै गर्दा यसमा नेपालगञ्ज मात्रै नभनेर बाँके र बर्दिलालाई समेटेर एक पाना खर्चिएको भए अझ सुगन्धित हुने थियो कि भन्ने यो मोटो बुद्धिको बाक्लो बाक्लो दृष्टिकोण तेसारेको हो ।

प्थान्थर निबन्ध भने निकै प्रतिकात्मक निबन्ध हो । यसको सारमा ‘जो बोक्सी उही धामी’ भनेजस्तै समाजमा सामाजिक विकृति, विसङ्गतिका विरुद्धमा आवाज उठाउँदै हिड्छन् उनीहरु नै त्यही विकृतिको खेती गरिरहेको कुरा यसमा उजागर गरिएको छ । मैले देखेको छु, क्यान्सर जस्तो घातक रोग निम्त्याउने गुट्काजन्य पदार्थको उत्पादन गर्ने महान समाजसेवीहरू नै क्यान्सर पीडितहरूको उपचारका लागि भनेर च्यारिटी गरेका देखेको छु । यस्ता चटकेहरु समाजमा हुन्जेलसम्म सामाजिक विकृति विसङ्गतीको अन्त्य कहिल्यै पनि हुँदैन ।

कहिल्यै धानको बोट नदेखेकाहरूलाई के थाहा चामल कहाँबाट आउँछ ? भूमिपुत्रको सम्मान अनि धर्तीमा पसिना बगाएर मोती फलाउने कृषको गाथा हो अर्को बेजोड निबन्ध पसिनाको स्वाद जुन मैले पहिले नै पढिसकेकोमध्येको एक उत्कृष्ट निबन्ध हो ।

रिसको बारेमा लेखिएको अर्को निवन्धले रिस भन्ने कुरा परावर्तित किरण जस्तै हो । जो एक सतहमा ठेक्किएर अर्कोतिर तेसारिहरको हुन्छ । त्यस्तै रिसले भने सारा दुनियालाई असन्तुलित गर्ने र एउटाको असर अर्कोमा देखिने हुन्छ र यसकै कारण कति कामहरू तहसनहस हुन्छ ।

मणि अर्यालको कुटीमा समावेश गरिएको निबन्धहरुमध्ये अन्तिम निबन्ध भनेको सम्झनामा इन्द्रबहादुर राई हो । यो निबन्ध भन्दा पनि इन्दबहादुर राई दार्जिलिङ्गका नेपाली भाषी साहित्यका अद्वितीय नक्षेत्रको संक्षिप्त जीवनी जस्तो लाग्यो मलाई त ! उनको बारेमा पढिरहँदा मैले कक्षा ९ मा पढेको उनकै कथा ‘रातभरी हुरी चल्यो’ झल्झल्ती संझिरहेँ ।

“हामीले त बाँचुञ्जेल हामीलाई पनि मरेर जानुपर्छ भन्ने कुरा चटक्कै बिर्सिंदा रहेछौँ । अनि त हामीलाई बाँच्न गाह्रो भैरहेको छ ।” वास्तवमा यो वास्तविकतालाई सबैले मनन गर्न सक्नेहो भने यहाँ हत्याहिंसा, लुटपाट, बलात्कार, गुण्डागर्दी, भ्रष्टाचार केही पनि हुने थिएन होला । हो यहि कुरा नबुझ्नाले नै मानिसले मानिसप्रति रिस साँचेर नाजायज लाभको पछाडि लागिरहँदा आँफै सक्किन लाग्दा चाल पाउँदैन ।

भेरी साहित्य समाजका अभियान्ताहरूका साथमा उनलाई भेट्न पुग्दाको क्षण र उनको सामान्य जीवनशैलीका बारेमा उल्लेख छ । उनी दार्जिलिङ्गका नगरपिता समेत बनिसकेका रहेछन् । साहित्य, सङ्गीतको कुनै पनि भुगोल हुँदैन भनेजस्तै उनको नाता भाषिक कारणले नेपालसँग जोडिएको र उनका बेजोड सिर्जनाहरुले सेती नदीको जस्तो भङ्गालो हैन कि कालीजस्तो फराकिलो आकार लिएको कुरा लेखकले उल्लेख गरेका छन् । नेपाली भाषाको साहित्यिक सिर्जनामा अनवरत जीवनभर लागेका इन्द्रबहादुर राईलाई वर्षमा एकपटक भएपनि स्मरण गर्दा उनका आख्यान तथा व्याख्यानहरू सदा सदाका लागि जिवित रहिरहने कुरा उल्लेख गरेका छन् ।

यसरी यो कृति नियालेपछि मनमा उम्लेका भावनाहरुका लागि वहाँको पनि अपेक्षा भएकोले जसोतसो कतारकुतुर पारेको छु । वरिष्ठ व्यक्तित्वद्वय आदरणीय गुरुहरु प्राज्ञ हरि तिमिल्सिना र कथाकार इन्द्र बहादुर भण्डारी “ईन्द्रेणी” बाट भाषिक सम्पादन भएको यो कृतिमा कताकति सामान्य रुपमा मात्रै वर्ण त्रुटीहरु देखिन्छन् जुन सामान्य प्राविधिक कुरा नै हो । श्रीनाथ बोल्ड फन्टमा सजिएको यो कृति निकै मौलिक, सामाजिक यथार्थ, बस्तुवादी भएकोले नेपाली साहित्यको क्षेत्रमा सदैव उम्दा रहने कुरामा विश्वस्त छु ।

सर्जक मणि अर्याललाई यस प्रकारका सिर्जनाहरुको निरन्तरताका लागि शुभकामना । 

अर्को कृति छिटै पढ्न पाइयोस् ।

Post a Comment

0 Comments