दोषी शिक्षक र क्वारेन्टिनालय


एक हप्ता भयो घर छोडेर गएको ! हेरत  यो घर, मान्छे बस्ने भए पो ! ओहो ! केही दिन मान्छेले के छोडेका थिए यो घरको हालत हेर त ! बुझ्नुभयो नि कुरा ? नबुझ्नुभएको भएमा बुझाउने प्रयास यो पंक्तिकारको रहनेछ । 

केही दिन वा केही हप्ता मात्रै घरको सरसफाई नगर्दा घरको हालत के होला ? तपाईं हामी सबैले भोगेकै कुरा हो । हो, पक्कै पनि धुलैधुलो अनि माकुराको जालो अनि चारैतिर उस्तै परे कमिलाले खनेर बिजात्रा अनि उसैमाथि अझै धमिरा लाग्यो भने त सत्यानाश ! हो, यस्तै कन्तविजोग हुन्छ घरको । मान्छे बस्दै गर्दा त कति ध्यान दिनु पर्छ आफ्नै निवासको सरसफाईमा भने मान्छे नभएको घरको के कुरा गर्नु र ? यहाँ अहिले घर भन्दा पनि चिन्ता त विद्यालयहरूको लागेको छ । यो पंक्तिकार पनि एउटा शिक्षक भएको नाताले पनि यो  चिन्ता व्यक्त गरिरहेको हो । पक्कै पनि यो चिन्ता उसलाई छ जसले मात्रै विद्यालयमा भएको लगानी अनि आजभन्दा छ महिना अघिका परिदृश्यहरूलाई रेटिनामा ल्याइरहेका छन् । यिनै परिदृश्यहरूले निरन्तर झस्काइरहेका छन् ? खै भोलिको अवस्था के हुने  हो ? 
पालिकाका एक वरिष्ठ कर्मचारीले कुनै विद्यालयको प्रधानाध्यापकलाई भने, “अब विद्यालयको क्वारेन्टिन खाली भएपछि तपाईंले नै डिस्इन्फेक्सन गर्नुहोला, विद्यालय तपाईंको हो, आफैंले  सरसफाई गर्नुहोला ।” यो सुनेर प्रधानाध्यापकका कन्सिरी तातेर आएछन् । अघिपछी सामान्य अवस्थामा विद्यालय तथा शिक्षकका पीरमर्काहरु तथा विद्यालयका अन्य समस्याहरुमा चासो खाँचो नदिने अहिले भने वडा तथा पालिकाहरुले विद्यालयमा क्वारेन्टिन बनाउने अनि विद्यालयको सारा भौतिक संरचनाहरुमा माकुराको जालो र फोहोर भर्ने, वरपर सुर्तीजन्न पदार्थहरु  खाएर थुकेका फोहोरी  दृश्यहरू  छन् अनि उसैमाथि आफैले सफाई गर भन्दा कति पीडावोध भयो वहाँलाई र वहाँले यही कुरा सुनेर निकै नै तनावित हुनुभयो । कुरो सान्दर्भिक पनि हो नि !  कहिलेकाहीँ कर्मचारीहरु पनि के के सोच्दछन् खै ? आफ्नो धरातल बिर्सिँदा गुरुवर्गहरुलाई निकै नै चिन्ता लाग्छ नि ! यसलाई भनिन्छ, ‘चाहिन्जेलको भाँडो,  नचाहिएपछिको ठाँडो’ भनेको यहि त होला नि ! के यसका बारेमा सम्बन्धित निकायले सोच्नु पर्ने हैन र ? करोडौंको लगानी राज्यको भएको छ क्वारेन्टिन अनि आइसोलेसन व्यवस्थापनका लागि । अहिले अधिकांश विद्यालयहरु खाली भएर पनि  डिस्इन्फेक्सन गरिसकिएका छन् भने कतिपय विद्यालयहरू क्वारिेन्टिन मात्रै हैन क्वारेन्टिनालय बनाइएको छ । खै त यसका बारेमा योजना ? पक्कै होला नि, किन नुहनु र ? अझ यसका  लागि पनि त  बजेट पक्कै विनियोजन गरिएकै होला । जतातताबाट शिक्षकलाई नै चेप्ने र हेप्ने प्रवृत्ति नसुध्रेसम्म यो देशको शैक्षिक पक्षमा कसरी उन्नती होला र खै ? यिनै र यस्तै विद्यालयबाट क, क, ख, ख गर्दै पढेर माथिल्लो शैक्षिक निकायमा पुगेर मै हुँ भन्छन्, अझै कतिपय त विद्यालयमा केही वर्ष पढाएर जागिर गरेर पनि अर्थात् सबै कुराको भुक्तभोगी भएर पनि विगतलाई आँखा चिम्लेर अनि उनीहरु नै शुरु गर्छन् घोचपेच शिक्षकहरुलाई । कमसेकम बुझ्नु  पर्छ कि पर्दैन शिक्षकको मर्यादा ?  

"यहाँ एउटा शिक्षक वा विद्यालयले गल्ती  गरे भन्दैमा सबैलाई एउटै ढाँडमा हाल्ने ढाँडे  प्रवृत्ति पनि उत्तिकै फस्टाएको छ ।  यो प्रवृत्तिले  गर्दा शिक्षकको मनोवल कमजोर हुन पुग्दछ  । यसरी मनोबल कमजोर  बनाउने र अनेक किसिमका दोष लगाउँदा  राम्रो गर्न  खोज्ने  र केही उत्साही तथा जाँगरीला शिक्षकहरुको जाँगर नै सेलाउँछ  ।  हो,  यो कुरा धेरै ठाउँमा भएको छ । "

अहिले आम शिक्षकहरुलाई एउटा चर्को आरोप आएको छ, ‘बसेर खाएका छन्’ भन्ने । हो, केही शिक्षक  होलान् यो कोटीमा तर सबै छैनन् । कोही अध्ययन गरिरहेका छन्, कोही प्रविधि सिक्दैछन् वा सिकिरहेका छन् । प्रविधिमैत्री शिक्षक समााज यो अभियानमा जोडतोडका साथ लागिरहेको छ । म राज्यले खटाउँछ भने जहाँ गएर पनि आफ्नो क्षमता अनुसारको काम गर्न तयार छु किनकी  मैले राज्यबाट केही  नगरीकन तलब लिनु पाप हो । दिओस् न त जिम्मेवारी । गएर पढा भनेमा हामी तयार छौँ तर यसका लागि बनाउनु प¥यो नि माहोल ! माहोल मात्रै बनाएर पनि भएन भोलिका दिनमा बालबालिकाहरु आउनु प¥यो नि विद्यालयमा ! यो वातावरण बन्नका लागि अझै केही महिना लाग्ने त अब निश्चित नै छ । भर्ना गर्न भन्यो हामीले विद्यालय गएर भर्ना ग¥यौँ, पाठ्यपुस्तक बाँड भन्यो हामीले पाठ्यपुुस्तक बाँड्यौँ । समुदायमा गएर घरघरै पढा भन्यो हामीले पढायौँ । एसइईको आन्तरिक मूल्याङ्कन गरेर पठा भन्यो हामीले पठायौँ ।  के गरेका छैनौँ र हामीले अनि उनै आरोप लगाउँछन्, दोष थुपार्छन् शिक्षकले केही गरेरनन् बसेर खाए । ए बाबा हो ! कहाँ खाएका छन् बसेर पालिकामा चाहिने हरेक तथ्याङ्क देखि कार्यमूलक अनुसन्धान फाराम अनि सम्पत्ति विवरण फाराम सबै काम गर्न विद्यालय त गएका छौँ त । अझ रेडियोमा पढाउने वा कुनै तरीकाबाट समुदायमा बालबालिकाहरुसँग निकट रहने काम पनि त भैरहेकै छ । स्वअध्ययन सामग्री बाँडेकै छौँ ।  बेलाबखतमा विद्यालयमा शिक्षक कर्मचारीहरुसँग बसेर छलफल बैठक गरेकै छौँ तर विद्यालय नै क्वारेन्टिनालय भएपछि शिक्षकले मात्रै के गर्ने त । अझै क्वारेन्टिनालय मात्रै हैन, स्वाब संकलनालय भएपछि के गर्नु त ? त्यहीबाट संकलन गरिएका स्वाबहरुको रिपोर्ट पोजेटिभ देखिएको छ । माहोल त राज्यले बनाउने हो । अब क्वारेन्टिनालको अस्तव्यस्तता कसले व्यवस्थापन गर्ने हो । लौ वरिपरीका फोहरहरु संकलन त गर्ला रे, अनि यसो डिस्इन्फेक्टेड पनि गर्ला रे तर यति गर्दैमा मात्र समस्या समाधान हुन्छ त ?   
केही दिन अगाडि एउटा महत्त्वपूर्ण डकुमेन्ट आवश्यक परेर  विद्यालयमा जानु पर्यो । ओहो! मेरो विद्यालयको हालत देखेर आँखा मात्रै रसाएनन् । त्यो दृश्यले त अहिलेसम्म पनि मन दुखेको छ । अरे ! जो आएपनि जो बसेपनि आखिर सबै हामी नेपाली त हौँ नि । हामीले नि किन यति धेरै लापारवाही गरेको होला खै । कमसेकम आपैंmले उत्सर्जन गरेको फोहरहरू त राम्ररी व्यवस्थापन गर्नु नि । अनि दिउसै पनि बत्तीहरू बलेकै छन् । रातदिन पङ्खा चलेकै छन् । अब ती विद्युतीय साधनहरुको उच्चतम प्रयोगले  गर्दा विद्यालयमा राखिएको  इन्भर्टरको हालत खराब भैसेको छ । ब्याट्रिमा नियमित राख्नुपर्ने डिस्टिल वाटर नराखेको यतिका महिना भयो । अब ती सुख्का ब्याट्री कुनै  बखतमा तातिएर केही दूघर्टना भयो भने त्यसको जिम्मेबार कसले लिने हो ? सम्बन्धित निकायको नियमित अनुगमन छैन कि जस्तो देखियो । यसरी त के हविगत होला त विद्यालयको ? अब त विद्यालय पनि के गरी भन्ने हो त खै ? क्वारेन्टिनालय पो जस्तो  भएको छ । 
शिक्षकलाई गतिले गरे पनि सुख छैन । केही शिक्षकहरुको कर्तुतका कारण सबैले बेइज्जेती खेप्नु पर्ने यो कस्तो परम्परा बस्यो खै ? हुनत कर्मचारीहरू पनि एउटाले  भ्रष्ट्राचार गर्छ अनि त्यसमा सबै  मुछिन्छन् सबै कर्मचारी भ्रष्ट छन् भनेर । तर, शिक्षक त अझ समाजसँग प्रतक्ष्य जोडिएको हुनाले  झनै  आरोपित हुन्छ । अहिलेको कोभिडका कारण  आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा बनाउन  भनेपछि सोहि अनुसार  विद्यालयहरूले नतिजा  तयार गरेर पठाएका हुन् । होला कुनै कुनै  विद्यालय तथा शिक्षकहरुले मौकाको फाइदा लिउँ भनेर  केही  फेक नम्बरहरु दिएका होलान् तर  अधिकांश विद्यालयको मूल्याङ्कन न्यायोचित नै हो । मेरो अनुभवमा हामीले लिएको आन्तरिक मूल्याङ्कनका अङ्कहरुलाई औसत निकालेर विद्यार्थीहरुको क्रम  निर्धारण  गरी उनीहरुको खुबी र दक्षता अनुसार नै मूल्याङ्कन गरिएको छ । एक जना बर्दिया जिल्लाका प्रधानाध्यापकले भन्दै हुनुहुन्थ्यो, “हामीले त अझ सङ्कुचित भएर मूल्याङ्कन गरेका छौँ भोलिका दिनमा हामीले गरेको मूल्याङ्कनका आधारमा प्राप्त गरेको  ग्रेडसिट लिएर कुनै शैक्षिक संस्थामा जाँदा हाम्रो इज्ज्यत र विद्यार्थीको दक्षता सन्तुलन हुने तरीकाबाट मूल्याङ्कन गरेका छौँ ।” यसरी मूल्याङ्कन भएको हो । कहीँ कतै हचुवाका भरमा मूल्याङ्कन गरेको भए छानवीन गरेर गरोस् न त कारवाही ! किन ठ्याईँ ठ्याईँ गरेर भुक्नु पर्यो ?  
त्यसैले, अब बाहिरबाट आउनेहरुका लागि बरु घरमै सुरक्षित रहेर बस्न अनुरोध गर्ने र विद्यालयहरु यथाशीघ्र खाली गरिदिनु पर्दछ । विद्यालयमा भएका अस्तव्यस्तताहरुको व्यवस्थापन गर्नका लागि पनि महिनौँ लाग्ने अवस्था छ । कही विद्यालयमा त सुरक्षित  विद्यालय परियोजनाले थालेका रेट्रो फिटिङका कार्यहरु पनि अधुरै छन् । भित्ताहरु भत्काएर राखिएको छ । दूघर्टना हने सम्भावना देखिन्छ । शिक्षक अल्छी छैनन्, बसेर खाएका छैनन् । जिम्मेबारी जिम्मेबारी पाएमा लिन तयार छन् भन्ने कुरा पनि सबैले बुझिदिनु पर्छ । गर्न खोज्नेलाई हौषला हैन हतोत्साह गर्ने परिपाटीका कारण यो  समाजबाट केही गर्न खोज्नेहरू पलायन हुनु परेको छ । 
                                                           धन्यवाद ।  

Post a Comment

0 Comments