नेतृत्वमा अलोकप्रियता कहिलेसम्म ?

"यसरी उच्च पदस्थ व्यक्तिहरूले जनतासँग डराएर कहिलेसम्म हिँड्ने ? जनताको प्रिय कसरी बन्ने ? जनताको मन मनमा कहिले बस्ने ? कहिलेसम्म दायाँबायाँ अत्याधुनिक हतियारसहित सुरक्षागार्ड राखेर कहिलेसम्म मुलुकको गाडी चल्न संभव हुन्छ होला र ?"

भर्खरै मात्र एक नेतालाई शौचालयमा थुनेर प्रहरीले सुरक्षा दिनुपरेको कुरा सामाजिक सञ्जालमा आयो । प्रकृति फरक भएपनि यस प्रकारको घटना भने यो पहिलो होइन । यस अगाडि पनि नेताहरूलाई जुत्ता प्रहार गर्ने, जुत्ताको माला गलाउनेदेखि लिएर कालोमोसो दल्ने जस्ता प्रवृत्तिहरू भने नभएका होइनन् । मुलुकमा हरेक शासन व्यवस्थामा यस प्रकारबाट उनीहरूप्रतिको असन्तुष्टिका भावहरू अभिव्यक्ति गर्ने प्रचलन जस्तै थियो । चाहे त्यो पञ्चायती व्यवस्था, प्रजातान्त्रिक वा गणतान्त्रिक व्यवस्था नै किन नहोस् यस खालका गतिविधिहरू भइरहेकै थिए अहिलेपनि भइरहेकै छन् र भविष्यमा पनि यस प्रकारका गतिविधिहरू नहोलान् भन्न सकिन्न । 
जनता पनि प्रत्येक व्यक्तिहरूको समष्टिगत रुप हो । जब व्यक्तिको प्रतिनिधीमूलक स्वरुप जनता हुन् भने जनताका तमाम खाले अपेक्षाहरू राज्य वा शासकसँग हुन्छ । त्यसमा फरक कुरा यत्ति होला कि कुनै व्यक्तिगत हितका लागि हुन सक्छ भने कुनै सामुहिक स्वार्थका लागि हुन सक्छ । तर यसरी जनताले आफूले अपेक्षा गरेका र नेतृत्वकर्ताबाट पाएका आश्वासनका विषयहरू सम्बोधन हुन नसकेको अवस्थामा नै यस्ता खालका परावर्तित व्यवहारहरू हुन पुग्दछन् । जनताको अभिमतलाई सम्मान गर्न नसक्दा पनि जनताबाट नेतृत्वकर्ताहरूमाथि यस प्रकारका व्यवहारहरू हुने गरेको पाइन्छ । कुशल नेतृत्वका लागि छनोट गरिएको व्यक्तिलाई नै नेता भनिन्छ । नेता आफ्नो पछाडि लाग्ने जनताहरूका लागि अनुकरणीय व्यक्ति बन्न सक्नु पर्दछ । अझ भनौँ नेतामा आइडियल बन्न सक्ने क्षमता सहितको नेतृत्व प्रस्तुत गर्ने सद्गुण हुनु जरुरी छ । विगतमा पनि सामाजिक छवीमा अधोगतिमा परेका नेताहरूले जति कसरत गरेपनि निर्वाचनमा अनपेक्षित पराजय पनि बेहोर्नु परेको अवस्था हाम्रो सामुमा जग जाहेर नै छ । यसरी नेताहरूको अलोकप्रियता बढ्दै जानुका पछाडि अन्य धेरै लुप्त कारणहरूपनि हुन सक्लान् तर आम जनताले बुझ्नुपर्ने कुरा के हो भने नेतृत्व अलोप्रिय हुनु समग्र व्यवस्थाप्रतिको वितृष्णा बढ्दै जानु पनि हो । वर्तमान समयमा मुलुका उर्वर उमेरका युवाहरू विदेश अध्ययनका लागि जाने गरेका छन् । लाखौँ युवाहरू विदेशमा छन् भन्दा भन्दै अब केही वर्षपछि यस्तै अवस्था रहिरहनेहो भने करोड बढी नेपालीहरू नेपाल बाहिर छन् भन्ने दिन नआउला भन्न सकिन्छ । यसरी कुनै दिन वर्तमानको वौद्धिक पलायनताले देशमा ज्येष्ठ र अशक्त जनताहरू मात्रै बाँकी रहने अवस्था नहोला भन्न सकिँदैन । यसो भन्दैमा विदेश जानै हुँदैन भन्ने त हुँदै होइन तर विदेशमा अध्ययन गरेर आर्जन गरेको ज्ञान र सिपलाई उपयोग गर्छु भन्ने मानसिकता बनाउनु पर्दछ तर यसका लागि भने कि त नेतृत्व तहबाट नै प्रभावकारी योजनाका साथ उपयुक्त अवसरहरू सिर्जना गर्नु पर्दछ कि त उनीहरूका ज्ञान र सिपलाई प्रयोग गरी बजार सुनिश्चित गर्न लगानी, प्रेरणा र हौषला दिनुपर्दछ । 
एकातिर यस्तो अवस्था छ भने अर्कोतिर मुलुकको नेतृत्व गरेर समृद्धिको सपना देखाउँदै काम गर्ने भनी जनताको सामु प्रतिवद्ध भएका जनप्रतिनिधीहरूप्रति वितृष्णा बढ्दै जानु पक्कै पनि सकारात्मक कुरा भने होइन । जे भएपनि जनताको मनमा बस्ने र सुशासनलाई कायम राख्दै भ्रष्टाचार र अनियमिततालाई न्यूनीकरण मात्रै नभएर निराकरण नै गर्ने पहलकदमी नेतृत्व लिनु अबको टट्कारो आवश्यकता भइसकेको छ । 
केही समय अघि काम विशेषले काठमाडौं जाने क्रममा वाध्यात्मक अवस्थामा हवाइजहाजको यात्रा गर्नु परेको थियो । केही समय ढिला उडान हुने भएकोले कारण बुझ्दै जाँदा भिआइपीको सवारी भइरहेको रहेछ । देशको महत्वपूर्ण नेतृत्वमा पुगेका व्यक्तिसँगै यात्रा गर्न पाएकोमा हवाइजहाजका यात्रुहरूमा उत्सुकतासहितको गाइँगुईँ चलिरहेको थियो । दुई घण्टा डिले भएको जहाजमा जब करिब सबै सिटहरू भरिएर इन्जिन स्टार्ट हुने अवस्थामा थियो तब अकस्मात भिआइपीको सवारी भयो । 
भिआइपीको इन्ट्रि यसरी भयो कि दायाँ बायाँ कडा सुरक्षा, पिए लगायतका पााँचजना जति अन्य मानिसहरू पहिले नै जहाजमा चढिसकेका थिए त्यसपछि भिआइपी जहाँजमा पस्दा टाउको तल गराएर सुटुक्क पसेर पहिलो सिटमा  थुचुक्क बसेपछि नै जहाज अगाडि बढ्यो । भिआइपी बसेको नजिकको सिट खाली थियो । सबै यात्रुहरूको ध्यान भने नजरले भ्याएसम्म उनै भिआइपीमा नै थियो । विमान परिचारकहरूले सायद विमानले सेवा दिन पाएकोमा वहाँको अनुभवको फर्म भराइएको थियो । यसैगरी परिचारकहरू भिआइपीको दायाँबायाँ बसेर बडो शानदारका साथ तस्बीर खिचे, मख्ख परे । लाग्थ्यो, उनीहरू अकल्पनीय आनन्दको सागरमा डुबुल्की मारिरहेका थिए । यस्तै यस्तै दृश्यहरू विमानका सबै यात्रुहरूले नियालिरहेको देखिन्थ्यो । अवतरण हुनासाथ कतिबेला बिजुलीवेगमा विमानबाट भिआइपी बाहिरिए पत्तै भएन ।
देशको उच्च पदमा रहेका व्यक्ति यसरी सार्वजनिक स्थलमा जाँदा जनतासँग अन्तरक्रिया गर्नुपर्ने हो । सबै जनतालाई हाइ हलो गर्दै केही दुईचार कुरा गरेर सुखद र सफल यात्राको कामना गर्दै हात हल्लाएर बसेको भए कति खुसी हुने थिए होलान् जनताहरू ! तर विडम्बना त्यस्तो खुसीको अपेक्षाको त कुरै नगरौँ, लाग्छ कुनै अपराध गरेर भागेको एक अपराधीजस्तै दृश्य देखिरहँदा सबैको मन खिन्न भएको सहजै अनुमान गर्न सकिन्थ्यो । यो परिस्थिति कसरी र कुन कारणबाट सिर्जित भयो ?  
यसरी उच्च पदस्थ व्यक्तिहरूले जनतासँग डराएर कहिलेसम्म हिँड्ने ? जनताको प्रिय कसरी बन्ने ? जनताको मन मनमा कहिले बस्ने ? दायाँबायाँ अत्याधुनिक हतियारसहित सुरक्षागार्ड राखेर कहिलेसम्म मुलुकको गाडी चल्न संभव हुन्छ होला र ? वर्तमान नेपालको राजनैतिक संरचना अनुसार चाहे त्यो संघ, प्रदेश वा स्थानीय तह नै किन नहोस् नेतृत्वको कमसेकम बहुमतीय लोकप्रियता हुनु पर्दछ । नेतृत्वको लोकप्रियता घट्दै जानुले के सङ्केत गर्छ ? जनताबाट लुकेर त्रसित मानसिकताबाट ग्रसित भएर सुरक्षा गार्डको आडमा चलेको नेतृत्व कति चीरस्थायी होला ? यो प्रश्नको बेलैमा समाधान खोज्नुपर्ने भइसकेको छ ।

तस्बीर : बाैद्धिक कृतिमताबाट 


Post a Comment

0 Comments