यतिखेर अधिकांश विद्यालयमा नाम लेखाउने र पाठ्यपुस्तकको वितरण गर्ने कार्य भइरहेको छ । केही विद्यालयहरुले पाठ्यपुस्तकको वितरण गर्ने कार्य सम्पन्न गरिसकेका छन् भने केही विद्यालयहरुमा पाठ्यपुस्तक वितरणको क्रम जारी रहेको छ । सामाजिक दुरीलाई कायम गर्दै र अन्य सावधानीहरु अपनाएर पाठ्यपुस्तकहरु वितरण गरिएका छन् । विश्व परिवेश र कोभिड संक्रमणका कारणले गर्दा सरकारले असार १ गतेबाट लागू हुनेरी बैकल्पिक शैक्षिक सहजीकरणका लागि निर्देशिका जारी समेत गरिसकेको छ । यस परिवेशमा अबका दिनमा पाठ्यपुस्तक वितरण गरेर मात्र नहुने र बालबालिकाहरुलाई सिकाइ सहजीकरणका लागि वैकल्पिक विधिहरू अपनाउनु आवश्यक देखिन्छ । यसका लागि जसले जहाँबाट जे सकिन्छ गर्दै जानु आवश्यक देखिएको छ । यसरी सिकाइ सहजीकरणका लागि विद्यार्थी स्वयम् उत्प्रेरित हुनुपर्दछ भने यसका लागि अभिभावक अनि शिक्षक र समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
अब कुरा रह्यो कसरी के भूमिका खेल्न सकिन्छ भन्ने बारेमा । बालबालिकाहरूको सिकाइ सहजीकरणका लागि अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण र गहन हुन्छ । पाठ्यपुस्तक प्राप्त गरिसकेपछि क्रमिकरुपमा पाठ योजना बनाएर बालबालिकाहरुलाई अध्ययन गर्नका निमित्त घरमै सहजीकरण गरी दिनुपर्दछ । यसका लागि योजना बनाएर समयअनुसार अध्ययनमा व्यस्त गराउनुपर्दछ । साक्षर वा केहि अध्ययन गरेका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पर्याप्त समय उपलब्ध गराएर सिकाइ सहजीकरण गर्नु आवश्यक हुन्छ । घरका विविध कामहरु सहित अन्य विभिन्न बालबालिका रुचीका क्षेत्रमा समेत आवश्यक अवस्थामा सहजीकरण गरिदिनु पर्ने हुन्छ । पाठ्यपुस्तकमा भएका विषयगत पाठकहरुलाई पनि क्रमिक रुपमा अभिभावकले जानेसम्म सहजीकरण गर्दै आगाडी बढ्नका लागि बालबालिकाहरुलाई प्रेरित गर्नु आवश्यक हुन्छ । आफैंले बसेर घरमा अध्ययन गर्न लगाउँदा नजानेको कुराहरुलाई सहजीकरण गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । त्यस्तै यो अवस्थामा बालबालिकाहरू खाली समय भएकोले विभिन्न कुलत र कुसंस्कारमा फस्न सक्ने सम्भावना पनि उत्तिकै प्रबल रूपमा रहेको छ । खाली समयमा त्यसै बस्नु पर्दा मानसिक रुपमा तनाव हुने भएकोले तनाव हुन नदिनका लागि पनि बालबालिकाहरुलाई आवश्यक रूपमा मनोरञ्जनात्मक वातावरण निर्माण गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । यसका लागि घरमा जे जस्ता साधन, स्रोतहरु छन् ती साधन स्रोतहरूलाई सही रुपमा सदुपयोग गर्नु आवश्यक देखिन्छ तर, टेलिभिजन मोबाइल इन्टरनेट हरूको प्रयोग गर्दा अभिभावकहरुले आफ्नो निगरानी्मा प्रयोग गर्न लगाउनुपर्दछ । टेलिभिजनमा आवश्यक कार्यक्रम तथा सुचनामूलक कार्यक्रम र जानकारीमूलक कार्यक्रमका साथै केही रुपमा मनोरञ्जनात्मक कार्यक्रम हेर्नका लागि बालबालिकाहरुलाई प्रेरित गर्न सकिन्छ भने इन्टरनेटका माध्यमबाट आवश्यक पर्ने शैक्षिक सामग्रीहरूको खोज्न र तिनीहरूलाई प्रयोग गर्नका लागि बालबालिकाहरुलाई सहजीकरण गर्न सकिन्छ । यसरी वेबसाइटहरु बाट सामग्री खोज्ने क्रममा कुन सामग्रीहरु उपयोगी छन् र कुन सामग्रीहरु उपयोगी छैनन् भन्ने कुरा बालबालिकाहरुले आफै निर्णय गर्न नसक्ने हुनाले यस कुरामा पनि सहजीकरण गरी दिनु आवश्यक हुन्छ ।
त्यसैगरी इन्टरनेट र टेलिभिजन नभएको ठाउँमा रेडियोबाट पनि केही महत्वपूर्ण कार्यक्रमहरु मनोरञ्जनात्मक कार्यक्रमहरु सुनेर पनि बालबालिकाहरुले धेरै कुरा सिक्न सक्दछन् । कुनैपनि साधन स्रोत नभएको स्थानमा वा ग्रामीण समुदायका बालबालिकाहरुलाई शिक्षकहरुले नै सहजीकरण गरिदिनुपर्ने हुन्छ । आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुसँग निरन्तर रुपमा सम्पर्कमा रहिरहने र उनीहरुका समस्याहरुलाई बुझ्ने र समाधान गर्नका निमित्त आवश्यक सरसल्लाह सुझाव प्रदान गर्न सकिन्छ । यसका अलावा कुनै विशेषलाई टोकेर ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई एकैस्थानमा सामाजिक दूरी कायम गर्दै उनीहरुलाई सिकाइ सहजीकरण गर्न सकिन्छ । यसका लागि शिक्षक नै जाँगरिलो हुनुपर्दछ । वास्तवमा यो संक्रमणकालिन अवस्थामा अधिकांश शिक्षकहरू प्रविधिलाई सिक्न अनि आत्मसात गर्न उत्प्रेरित भइरहेको पाइन्छ । यस्ता किसिमका पहलहरु देशभरि नै चलिरहेका छन् । तबसम्म बालबालिकाहरुले सिक्न सक्दैनन् जबसम्म शिक्षकले सिकेका हुँदैनन् । त्यसैले जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै गरी शिक्षक ले पनि साँझबिहान अथवा दिउसो समय हुन्छ आफ्नो सेवा क्षेत्रमा रहेका बालबालिका लाई आवश्यकता अनुसार सिकाइ सहजीकरणका लागि सहयोग गरिदिनु पर्ने अवस्था रहेको छ ।
उपर्युक्त कार्यक्रमहरु संचालन गर्नका लागि विद्यालयले एउटा छुट्टै समिति बनाएर तर अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्न सक्दछ । आफ्ना सेवा क्षेत्रमा रहेका बालबालिकाहरुले उनको माध्यमको प्रयोग गरी अध्ययन गर्न सक्दछन् भन्ने तथ्यांक संकलन गरी सो अनुसारको कार्यक्रमहरु अगाडि बढाउनु आवश्यक देखिन्छ । यसका लागि विद्यालयका प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु बसी ठोस कार्ययोजना बनाएर आफ्नो सेवा क्षेत्रमा रहेका बालबालिकाहरुलाई निरन्तर रुपमा भेटघाट गर्ने र अरुलाई सिकाइका लागि सहजीकरण गरिदिने योजना तयार गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । केही स्थानहरुमा यस प्रकारका अभ्यासहरु पनि भइरहेका छन् जुन अभ्यास हो अत्यन्तै सफल पनि भएका छन् । यसो हुँदा बालबालिकाहरुले एक्लो महसुस नगर्ने र उनीहरुलाई विद्यालय जान नपाएको न्यास्रो पनि मेटिने हुन्छ ।
एकातिर देशको केन्द्रीय राजनीतिमा नै उथलपुथल मच्चीरहेको अवस्था छ भने यस प्रकारको अवस्थाले देशको समग्र शिक्षा नीतिमा नै प्रभाव पारिरहेको देखिन्छ । खासगरी सत्ता र शक्ति लोलुपताले अझै पनि नेपाली राजनेताहरुलाई नछोडेको अवस्थामा यो देशको समुन्नति कसरी कल्पना गर्न सकिन्छ दुःखलाग्दो कुरा यहाँनेर देखिन्छ । कुनै पनि क्षेत्रमा साच्चिकै प्रगति गर्ने हो र समाजलाई सम्वृद्धिको बाटोमा अगाडि लैजान लैजाने हो भनेदेखि त्याग समर्पणको र बलिदानीको भावना सबै नेपालीमा हुनु जरुरी देखिन्छ । यसका लागि राज्य संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । खासगरी बजेट मुखी कार्यक्रमहरुमा मात्रै विशेषगरी जना प्रतिनिधि तथा कर्मचारीहरूको ध्यान केन्द्रित भइरहेको अवस्थामा सेवाको भावनाले पनि काम गर्नु जरुरी देखिन्छ । सूचनाप्रविधिको सिकाइ सहजीकरणका क्षेत्रमा ठोस योजना र कार्यनीति बनाएर तत्काल अगाडि बढाउनुपर्ने देखिन्छ ।
जहाँ जुन माध्यमबाट सिकाइ सहजिकरण गर्न सकिन्छ तिनै माध्यमहरुलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । कोरोना संक्रमणका कारणले हुन नसकेको एसइई परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनबाट नै नतिजा प्रकाशन गर्ने योजना भए अनुरुप विभिन्न विद्यालयहरुले आफ्नो कार्यप्रक्रिया अगाडि बढाईसकेका छन् । असार २० गतेभित्र मूल्याङ्कन गरी अंकहरु शिक्षा विकास तथा समन्वय इकाई मा पठाउने भनी यतापनि विद्यालयमा रहेका क्वारेन्टिन र अन्य असामान्य परिस्थितिका कारण धेरै विद्यालयहरुले समयभित्रै मूल्यांकन गरी विद्यार्थीहरूको अङ्क पठाउन सम्भव देखिएको छैन । यसैगरी अङ्गहरूको कम्प्युटर प्रविष्टि गरेर निर्णय गर्नुपर्ने भएकोले पनि कुनै विद्यालयहरुमा विद्युत अवरोध क्वारेन्टाइनका कारण भएको अस्तव्यस्तता ले गर्दा यस प्रकारका कार्यसम्पादन गर्न असहज परिस्थितिको सिर्जना भएको छ ।
बालबालिकाको हातमा पाठ्यपुस्तक त पुगेको छ तर पाठ्यपुस्तक पुर्याउनु मात्रै ठूलो कुरा पनि होइन । स्थानीय निकायबाट असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण गरिसक्नुपर्ने निर्देशन रहेको र आवश्यक बिल भर्पाइ हरु पेश गर्नुपर्ने र विद्यार्थीहरूको लागि पाठ्यपुस्तकको रकम माग गर्नुपर्ने निर्देशन गरिएको छ । तर विषम परिस्थितिका कारण केहि मध्यम शहरी क्षेत्रका विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुको आफ्नो घरमा रहेको कारणले त्यस्तै खेतीपातीको समय भएको कारणले अधिकांश बालबालिकाहरु विद्यालय मा नाम लेखाउन तथा पाठ्यपुस्तक लिन आइरहेका छैनन् । यो अवस्थामा कति विद्यार्थी भर्ना हुन्छन् भन्ने कुरा विद्यालयलाई अझ एकीन हुन सकेको छैन । यसरी पूर्वानुमान गर्न नसक्ने परिस्थितिमा पुस्तक वितरणको क्रम सकिएपछि भर्ना हुन आउने विद्यार्थीहरूलाई पुराना पाठ्यपुस्तक दिनुपर्ने बाध्यता विद्यालयको रहने देखिन्छ ।
एकातिर ढिलो पाठ्यपुस्तक वितरण भएको थियो भने अर्कातिर छिटोछिटो पाठ्यपुस्तक वितरण गर्नु भन्ने अन्योल पूर्ण निर्देशनले विभिन्न विद्यालय अभिभावक तथा विद्यार्थीहरुलाई असहज परिस्थितिको सिर्जना हुन पुगेको देखिन्छ । अतः बालबालिकाका हातमा नयाँ पाठ्यपुस्तक पुग्न नसकेमा यसको जिम्मेवारी हुने भन्ने कुराको जवाफ खोज्नु जरुरी छ ।
पाठ्यपुस्तक प्राप्त गरिसकेका बालबालिकाहरुलाई अभिभावक शिक्षाक समुदाय का बुज्रुक व्यक्तित्वहरुले सिकाइका लागि जसले जहाँबाट जसरी सकिन्छ यसरी सिकाइ सहजिकरण गरिदिनुपर्ने हुन्छ ।
यसप्रकारको संक्रमणकालीन अवस्था कहिलेसम्म रहने हो ? कहिले सकिने हो ? कहिले विद्यालय खुल्ने हो ? भन्ने कुरा अन्योल भइरहेको अवस्थामा बालबालिकाहरुलाई स्वप्रेरित गर्ने वातावरणको सृजना गरी घरमै बसेर सुरक्षित साथ विभिन्न विषयहरुलाई सिक्दै, अध्ययन गर्दै र व्यवहारमा परिवर्तन गर्दै जानका लागि सबैले आ-आफ्नो क्षेत्रबाट उत्प्रेरित गर्नु पर्ने देखिन्छ ।



2 Comments
Good sir...
ReplyDeletevery nice article
ReplyDelete