बालबालिकाहरुका लागि योग तथा व्यायमको महत्व: प्रभात सुवेदी


मानिसको शारीरिक संरचना हेर्ने हो भने हाड, छाला, मासु र रगतको मात्र संयोजन छ । यो संरचना तयार हुनका लागि कोष, तन्तु, अंग तथा नौ वटा प्रणालीहरु अस्थिपञ्जर प्रणाली, मांशपेशी प्रणाली, पाचन प्रणाली, स्वासप्रश्वास प्रणाली, उत्सर्जन प्रणाली, रक्त सञ्चार प्रणाली, ग्रन्थी प्रणाली, स्नायु प्रणाली, प्रजनन् प्रणालीहरु रहेका छन् । कोषहरु मिलेर तन्तु, उस्तै प्रकारका तन्तुहरु मिलेर अंग र अंगहरुको संयोजनबाट नै प्रणालीको निर्माण भएको हुन्छ ।

एकातिर यस प्रकारको मानिसको शरीरको संरचना रहेको हुन्छ भने अर्कातिर यो संरचनालाई सञ्चालन गर्नका लगि विभिन्न अंगहरुले सही रुपले प्रकार्य गरिरहको हुनुपर्दछ । यदि कहिँ कतै एउटा मात्रै अंगमा समस्या आएमा पुरै शरीरमा असर पर्दछ । यो शरीरको सम्बन्ध भने प्रतक्ष्य रुपमा प्रकृतिसँग रहेको छ । हामी यो कुरा सहजै बुझ्न सक्दछौं कि हामीले वायुमण्डलबाट लिने अक्सिजन वातावरणबाट नै प्राप्त गर्दछौं । “अक्जिसन” जसलाई हामीले प्राणवायु भनेर बुझ्ने गर्दछौं । अक्सिजन नै हाम्रो प्राण हो जसले रगतलाई शुद्धिकरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ । केही मिनेटसम्म शरीरले अक्सिजन प्राप्त गरेन वा मस्तिष्कमा अक्सिजनको कमी भयो भने मानिसको मृत्यु हुन्छ । दिनानुदिन वातावरण प्रदुषित हुँदै गैरहेको छ । हाम्रो प्राणवायु समेत प्रदुषित भैरहेको अवस्था रहेको छ । हाम्रो खानपानका बस्तुहरु तथा हाम्रो दिनचर्यामा व्यापक परिवर्तन आइरहको अवस्था रहेको छ । यस अवस्थामा एकातिर हामीले आफ्नो स्वास्थ्यप्रति सजकता अपनाउनका लागि आवश्यक उपायहरुको अवलम्बन गरिरहेका छैनौं । मानिस शारीरिक रुपमा स्वस्थ भएमा मात्र दैनिकी सहज हुन्छ । यदी शारीरिक रुपमा नै अस्वस्थ भएमा दैनिकीमा सहजता आउन सक्दैन । रोगग्रस्त जिन्दगीबाट जीवनमा कुनै पनि उपलब्धी हाँसिल हुन सक्दैन ।

शारीरिक रुपमा स्वस्थ रहनका लागि विशेष गरेर खानपानमा ध्यान दिनु एकातिर जरुरी छँदैछ भने अर्कोतिर नियमित रुपमा योग तथा व्यायमको आवश्कता पनि पर्दछ । शरीरमा रहेका कोषहरुमा पर्याप्त मात्रामा अक्जिनको मात्रा पुगेको खण्डमा मात्र शरीरमा स्फूर्ती हुन्छ । तसर्थ खानपानका साथै शारीरिक व्यायम तथा योग साधनामा पनि उत्तिकै ध्यान दिन सकिएमा पक्कै पनि मानिस मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सक्दछ । हामीले कहिल्यै पनि पुरा फोक्सो भरीने गरी कहिल्यै पनि श्सास लिएका हुँदैनौं जसका कारण फोक्सो खुम्चिएर दम जस्ता समस्याहरुबाट ग्रसित हुन पुग्दछौं ।

बालबालिकाहरु स्वस्थ हुन जरुरी छ । उनीहरुलाई स्वस्थ बनाउनका लागि सन्तुलित ताजा घरमा तयार गरिएका खानाका साथै उचित रुपमा शारीरिक व्यायमको पनि अभ्यास गराउनु जरुरी छ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनका लागि पनि योगाभ्यास तथा शारीरिक व्यायमको जरुरी हुन्छ । युवावस्था तथा किशोरावस्थाका बालबालिकाहरुका लागि शारीरिक व्यायम तथा योगाभ्यास अत्यन्त आवश्यक छ । उनीहरुको तीब्र शारीरिक बृद्धि हुने समय भएका कारणले पनि सन्तुलित भोजनका साथसाथै शारीरिक व्यायम तथा योगाभ्यासको आवश्यक पर्दछ । योग तथा व्यायम विहानको ब्रह्ममुहुर्तमा गर्नु राम्रो हुन्छ । सयमलाई उचित व्यवस्थापन गरी विहानको समयमा बालबालिकाहरुलाई मन र मस्तिष्क स्वस्थ राख्नका लगि खासगरी शारीरिक कसरतहरुका साथै प्राणायामको आवश्यकता छ । अनुलोम विलोम, भस्त्रिका, कपालभाँती लगायतका प्राणायमहरु नियमित रुपमा अभ्यास गराउन सकिएमा उनीहरुको मस्तिष्कमा अक्सिजनको मात्रा सन्तुलित हुन पुग्दछ । जसले गर्दा बालबालिकाहरुमा नयाँ कुरा सिक्नका लगि उर्जा भरिहरन्छ । कक्षाकोठामा आलस्यता हुँदैन र अध्ययनमा ध्यान केन्द्रित गर्न सक्दछन् । प्राणायामको नियमित अभ्यासका कारण शरीरमा रहेका कोषहरु स्वस्थ भई सबै उपापचयका प्रक्रियाहरु स्वभाविक हून्छन् । फोक्सो, मुटु, कलेजो, मृगौला लगायतका अंगहरु पनि स्वस्थ हुन्छन् । पाचन प्रणालीमा पनि कुनै किसिमको खराबी आउँदैन ।

यसरी बालबालिकाहरुलाई योगाभ्यास तथा व्यायमको अभ्यास गराउँदा अभिभावकले पनि प्रोत्साहन गर्नु पर्दछ । अभिभावकहरु पनि आफ्ना बालबालिकाहरुसँगसँगै अभ्यास गर्नुपर्ने हुन्छ । यसले गर्दा उनीहरुमा हौषला हुन जान्छ, यस प्रकारको अभ्यासलार्इृ एक दुइ दिन मात्र नगरेर नियमित रुपमा अभ्यास गर्नु आवश्यक छ । योगलाई साधनासँग पनि जोडिएको छ । साधना भन्नाले कुनै पनि कार्यको निरन्तरता भन्ने बुझिन्छ । त्यसैले योगाभ्यास तथा शारीरिक व्यायमलाई नियमित बनाउन सकेमा मात्र यसको अर्थ रहन्छ । जब बालबालिकाहरु शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन्छन् तबमात्र उनीहरुको सिकाइ कार्यकलापमा प्रखरता आउँदछ । यसर्थ हामीले बालबालिकाहरुलाई स्वस्थकर खानपानका लागि प्रोत्साहन गर्दै नियमित रुपमा योग तथा शारीरिक व्यायमका लगि प्रोत्साहन गर्न जरुरी छ ।

Post a Comment

0 Comments