आमसञ्चार र शैक्षिक निकायहरू : प्रभात सुवेदी सन्दर्भ ः बबई साप्ताहिकको १४औं वार्षिकोत्सव


कुनै पनि काम सम्पन्न गर्नको लागि कुनै व्यक्ति विशेषलाई जति गाह्रो हुन्छ, त्यति त्यो कामलाई सहकार्यताको स्वरुप दिन सकिएमा सहज हुन्छ । आज हामीमा सहकार्यताका भावनाहरु विस्तारै सेलाउँदै गएको अवस्था रहेको छ । हाम्रो समाजमा, ‘मै लाउँ मै खाउँ, सुख सयल वा मोज म गरूँ’ भन्ने भावनाको हावी भैरहेको अवस्था छ । जसका कारण हाम्रो समाज अधोगतितर्फ उन्मुख भैरहेको छ । हाम्रो समाज अधोगतितिर जानु भनेको नै हामी अधोगति तिर जानु हो वा अवनतितिर धकेलिनु हो ।
आज सहकार्यताको भावना हामीबाट बिस्तारै हराउँदै गएको अवस्थामा आमसञ्चार र शैक्षिक निकायहरुको सहकार्यताको प्रश्न पनि उत्तिकै जर्जर भएर उब्जेको छ । समाजमा चेतना भर्दै व्याप्त विकृति र विसङ्गतीहरुका विरुद्ध लागेर समाजलाई सदा सचेत गराइदिने आम सञ्चारमाध्यमहरुको महत्वपूर्ण दायित्व भनेको समाजलाई अदृश्यात्मक तवरले शिक्षित बनाउनृ पनि हो । कुनै व्यक्ति अध्ययन गरेर डिग्री हाँसिल गर्दैमा ऊ शिक्षित भैहाल्ने पनि हैन । यदि उसमा सामाजिक चेतना, मानवता र आदर्शका भावनाहरु विकसित भएनन् भने उसले कमाएको शैक्षिक उचाइको कुनै अस्तित्व रहँदैन । तसर्थ त्यस्ता व्यक्तिहरुलाई पनि शैक्षिक चेतनाको मूल धारमा ल्याउन जरुरी भैसकेको अवस्था नेपाली समाजमा टट्कारो रुपमा रहेको छ ।
एउटा सञ्चार माध्यमले समाजलाई शिक्षित र चेतनशील बनाउनका लगि खेल्नुपर्ने भूमिका र आफ्नो दायित्वलाई कहिल्यै पनि विर्सनु भने हुँदैन । यति मात्र हैन, विभिन्न कारणबाट उपेक्षित भैरहेका र कतिपय उदाउँदै अस्ताउँदै गरेका र अस्ताएर पनि फेरी उदाउन नसकेका सञ्चारमाध्यमहरुले यही कुरा बुझ्न नसकेर वा बुझ्न नचाहेकै कारणले गर्दा पनि यस प्रकारको परिस्थिति जन्मेर आज तन्नेरी बन्ने अवस्थामा छ । यो परिस्थितिलाई ढलाउनका लागि सञ्चार माध्यमको एक्लो प्रयासले मात्र केही हुँदो रहेनछ । यसका लागि यससँग प्रतक्ष्य वा परोक्ष रुपमा संवद्ध निकायहरुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसका लगि जिल्लास्तरमा जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र, विद्यालयहरु लगायत सम्पूर्ण अभिभावकहरु र आम सरोकारवालाहरुसँगको सहकार्यताको जरुरी पर्दछ ।
यस जिल्लामा विद्युतीय र छापा गरी करीब दर्जन सञ्चारमाध्यमहरु रहेका छन् । जसमध्ये दोस्रो दशक प्रवेशको आधाआधी खुड्कीलो चढ्दै गरेको यो बबई साप्ताहिकले भने यतिखेर आफ्नो स्थापनाको १४औ. वर्षगाँठ मनाइरहेको छ । विगत २ वर्षदेखि यस पातोमा ‘शैक्षिक स्तम्भ’ लिएर यो पंक्तिकार यहाँहरुसँग नियमित रुपमा आइरहेको छ । यसमा लेखिएका वा कोरिएका लेखहरु कतिपय पाठकहरुले अध्ययन गर्नुभएको होला । केही छिटपुट सल्लाह र सुझाबहरुमध्ये आलोचनात्मक सुझावहरु मैले निकै कम पाएको छु । मेरो अपेक्षा भनेको प्रशंसा भन्दा पनि आलोचनात्मक सुझाव नै हो । यस पत्रिकाले साप्ताहिक रुपमा भएपनि शिक्षा सम्बन्धी विषयवस्तुहरुलाई नियमित रुपमा समेट्दै आइरहेको छ । यसले केही रुपमा भएपनि शिक्षासँग सम्बन्धित विषयवस्तुहरुलाई पस्कने सकारात्मक प्रयास गरेको छ । यो सह्रानीय पक्ष हो । तर, यति पहल मात्रै पर्याप्त नुहनेभएकोले अन्य सञ्चार गृहहरुले पनि यो विषलाई केही गम्भीरतापूर्वक लिनु आवश्यक छ । आमसञ्चारका माध्यमहरुबाट नै समाजले केही सिक्ने र गर्ने अपेक्षा गरको हुन्छ । कहिलेकाँही हामीले देख्ने र सुन्ने गरेका छौं कि, ‘यो कुरा त मैले पत्रिकामा पढेको, रेडियोमा सुनेको, टेलिभिजनको एउटा कार्यक्रममा हेरेको’ भनेर नागरिकहरुमा एक खाले विषयवस्तुको प्रष्टीकरणमा आत्मविश्वास जागेको हुन्छ । यसको कारण भनेको नै नागरिकहरुमा आम सञ्चारमाथिको विश्वास नै हो । तसर्थ कुनै पनि सञ्चारमाध्यमले आम नागरिकहरुको विश्वास गुमाउने कार्य कुनै पनि हालतमा गर्नु हुँदैन भन्ने यो पंक्तिकारको अभिलाषा हो । यदि आम जनतामा रहेको यो विश्वासलाई कहिँ कतैबाट कुठाराघात गर्ने किञ्चित प्रयास मात्रै भएमा पनि सञ्चारमाध्यमको आयु सकिने निश्चित हुन्छ । किनकी आम नागरिकहरुको माया र उनीहरुकै विश्वासमा सञ्चारमाध्यमरु आडि बढ्दै जाने हो ।
शैक्षिक परिवेशमा पनि अवका दिनमा आम सञ्चार माध्यमहरुले यससँग संवद्ध निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको छ । किनकी जबसम्म समाजको शैक्षिक चेतनाको द्वार खुल्दैन तवसम्म समाजमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिँदैन । सामाजिक अपराध, घरेलु हिंसा, महिला हिंसा, चेलीबेटी बेचविखन, जबरजस्ती, बलात्कार, लागु पदार्थको सेवन, जुवातास, खुल्लेआम अनुमतिविना मदिरा र मदिराजन्य पदार्थको विक्रि वितरण, कालो बजारी, ढगी प्रवृत्ति जस्ता आपराधिक क्रियाकलापहरु समाजबाट न्यूनीकरण गर्नका लागि प्रहरी प्रशासनसँग सकारात्मक सहकार्य गर्नु आवश्यकता रहेको छ ।
यति मात्रै हैन शिक्षा संवद्ध संघसंस्थहरुले अहिले शिक्षाक्षेत्रमा ठूलो लगानी खन्याइरहेको अवस्था छ । चाहे त्यो विद्यालय भवन निर्माणमा किन नहोस् वा पुस्तकालय तथा विद्यार्थीहरुको स्टेसनरी लगायत विभिन्न पेसागत दक्षता अभिवृद्धिका लागि तालिम तथा सेमिनार नै किन नहोस्, यस प्रकारका कार्यक्रमहरुले पनि शैक्षिक गुणस्तर वृद्धि गर्न केही हदसम्म भूमिका खेलेको पाइन्छ । तर यस किसिमका कार्यक्रमहरुको प्रभावकारी अनुगमन र यसको उपादेयताको सही रुपमा आँकलन गर्न नसकिँदा संघ संस्थाहरुले दिएको सहयोग कहाँ, कसरी र कसले उपयोग गरिरहेको छ भन्ने जटिल प्रश्न भने हाम्रो सामु उँभिएको छ । यो हाम्रा लगि चुनौतीका रुपमा पनि खडा भएको छ । तसर्थ, यसमा मात्रै हैन अव ती संघसंस्थाहरुले साझेदारका रुपमा आमसञ्चारहरुसँग पनि सहकार्य गर्ने पो हो कि ?
सहकार्य त गर्ने तर कसरी गर्ने भन्ने सवाल आउन सक्दछ । यसका लागि सञ्चार माध्यमहरुसँग सहमति कायम गर्दै विद्यालयमा अध्यापन गराइने विषयहरुका विज्ञहरुको सहयोगमा बालबालिकाहरुका लागि काम लाग्ने गरी सुन्ने तथा पढ्ने सामग्रीहरु प्रसारण तथा प्रकाशन गर्न सकिन्छ । रेडियोबाट कक्षाहरु सञ्चालन गर्ने, बालबालिकाहरु, विशेषज्ञ तथा अभिभावकहरुसँग कुराकानी गरेर अध्ययन अध्यापन तथा बालबालिकाहरुको मनोविज्ञान तथा उनीहरुको लक्ष्य तथा अध्ययन सम्बन्धी समस्याका सम्बन्धमा कुराकानी गर्न सकिन्छ । त्यसैगरी पत्रपत्रिकाहरुमा पनि विषयवस्तुसँग सम्बन्धित पाठहरु वा तत्सम्बन्धी जिज्ञासाहरुको समाधानहरु दिन सकिएमा पक्कै पनि प्रभावकारी हुन्छ । यो कुराको अनुभव यो पंक्तिकारले २ वर्ष अघि रेडियो बबई १०६ मेगाहर्ज गुलरियाबाट जिल्ला शिक्षा कार्यालय, बर्दियासँगको सहकार्यतामा तीन महिनाका लागि उत्पादन तथा प्रसारण गरिएको कार्यक्रम ‘मेरो कक्षा मेरो पढाई’ बाट अनुभव प्राप्त गरिसकेको यहाँहरुलाइ जानकारी गराउन चाहन्छु । त्यसैले पनि जिल्ला शिक्षा कार्यालय र शिक्षाका साझेदार संघसंस्थाहरुको समन्वयमा यस प्रकारका कार्यक्रमहरु उत्पादनका लागि केही पहल कदमी हुन सकेमा पक्कै पनि एकातिर शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिने थियो भने अर्कोतिर समाजमा रहेका आम नागरिकहरुमा शैक्षिक चेतना उकास्न समेत सघाउन पुग्ने थियो ।
त्यसैले सञ्चार माध्यमहरुलाई टिकाइराख्न र यसको अधिक भन्दा अधिक प्रयोग गरी आम नागरिकहरुलाई शिक्षित बनाउँदै विद्यालयस्तरका पाठ्यक्रमका विषयवस्तुहरुको प्रकाशन तथा प्रसारणमा विशेष ध्यान दिन सकिएको खण्डमा पनि सञ्चारमाध्यमहरु एकातिर सवल बन्दै जाने र अर्कोतिर समाजमा सञ्चारमाध्यमलाई हेर्ने दृष्टिकोणमा पनि परिर्वतन आउने थियो ।
बबई साप्ताहिकले गरेको यो सानो प्रयासालाई पनि शैक्षिक स्तम्भकारका हैसियतले हार्दिक साधुवाद दिन चाहन्छु । साथै १४औं वर्षगाँठको यो अवसरमा यस साप्ताहिकको जवानीमा अमm रौनक भरिँदै आओस भन्ने सम्पूर्ण विज्ञ पाठकवर्गहरु, विज्ञापनाता सवैमा हार्दिक धन्यवाद सहित आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा र यो खुसी यहाँहरुमा अनन्त शुभकामनाका रुपमा साटासाट गर्दै आगामी दिनमा यस पत्रिकाको लागि सह–सम्पादकका हैसियतले आलोचनात्मक सुझाबको समेत अपेक्षा गर्दछु ।

Post a Comment

0 Comments