महोत्सव, अश्लिलता र कक्षाकोठा
प्रभात सुवेदी । ‘मोह’ र ‘उत्सव’ दुई शव्द मिलेर महोत्सव बनेको हो । मोहको उत्सव अर्थात रमाइलो रमझम् आनन्दित परिवेश नै महोत्सव हो । समाजशास्त्रीहरुका अनुसार मानिस सधै एकोहोरो एउटै काम गरीरहन सक्दैन तथा एउटै काममा रमाउन पनि सक्दैन । मानिसलाइ मनोरञ्जनको पनि आवश्यकता पर्दछ । मनको रञ्जन मनोरञ्जन हो । यसका लागि मानिसले विभिन्न सिर्जनात्मक गतिविधीहरुमा सरिक हुन्छ । फरक यत्ति मात्रै हो कि यस प्रकारका मनोरञ्जनका शैलीहरु विविध हुन सक्दछन् । जस्तो कि लेखन, अध्ययन, सांस्कृतिक गतिविधीहरु, साजसज्जा, डिजाइनिङ, आम सञ्चारको दुनिया आदि क्षेत्रहरुमा रमाउन चाहान्छ । अझ मानिसले चरम आनन्दित हुने भुलभुलैयामा फँसेर धुमपान, मध्यपान लगायतका कुलतहरुमा जगडिन पनि पुग्दछ । यति मात्र हैन कि त्यस प्रकारका व्यक्तिहरुले समाजमा आपराधिक गतिविधिहरु पनि गर्दछन् ।
अहिले जताततै महोत्सवको माहोल छाएको छ । पत्रपत्रिका होस् वा विद्युतीय माध्यम हुन्, जताततै महोत्सवका प्रचारात्मक सामग्रीहरु प्रकाशन तथा प्रसारण भैरहेका छन् । पहिलेको र अहिलको आयोजना संरचनामा पृथकता आएको छ । जो कोहीले जहाँपनि जतिबेला महोत्सवको आयोजना गरिेरहेका छन् । हुन पनि हो, पहिले पहिले क्षेत्रीयस्तरमा एउटा महोत्सव हुन्थ्यो, पछि जिल्लास्तरमा एउटा हुने गर्दथ्यो । चाडबाड पर्व तथा उत्सवहरुमा हुने धार्मिक महोत्सवहरुलाइ छाडेर अहिले त एउटा जिल्लामा आधा दर्जन स्थानरुमा महोत्सवको आयोजना गरिएको छ । अझ पहाडी जिल्लहरुमा पनि यसको सिको गर्दै ठाउँको अभावमा विद्यालयहरुमा महोत्सवस्थल बनाएर महिनौंसम्म विद्यालयको पठनपाठन प्रभावित हुनेगरी महोत्सव सञ्चालन गरिएका समाचारहरु सञ्चरमाध्यमहरुमा आइरहेका छन् ।
महोत्सव किन र के गर्नका लागि हो भन्ने कुरा निश्चित हुनु पर्दछ । साथै हरेक वर्ष महोत्सवको आयोजना गरिँदा विगतका वर्षहरुमा आयोजना गरिएका महोत्सवहरुले स्थानीय स्तरमा कुन–कुन क्षेत्रमा के–के उपलब्धी भयो भन्ने कुराको पनि समिक्षा गरिनु आवश्यक छ । सम्बन्धित निकायले आयोजकसँग यसको हरहिसाव नियमानुसार आधिकारीक लेखा परीक्षकबाट गर्न लगाई, त्यसको सान्दर्भिकता पुष्टि गर्नु पर्दछ । हैन भने नेपाल हो, जसो पनि हुन सक्दछ । १८औं सार्क शिखर सम्मेलनमा भएको पानीसरी खर्च जस्तो । हुँदै नभएका कामका लगि वेमतलवी तरीकाबाट करोडौं माग गरेजस्तो हुन सक्छ । त्यसैले पनि एकातिर महोत्सवको आयोजना गरेर विगतका दिनमा के–के राम्रा कुराहरु भए भन्ने कुराको समिक्षा हुनु जरुरी छ अर्कोतिर फेसनका रुपमा आयोजना गर्न लागिएका बग्रेल्ती महोत्सवहरुलाई नियमन गर्नु जरुरी छ ।
महोत्सवका राम्रा पक्षहरु पनि छन् । अघिपछि ‘हाइवर्नेसन’ को अवस्थामा रहने राष्ट्रिय भन्ने उपमा दिइने कलाकारहरुलाई एक्कासी वर्खा लागेको जस्तो हुन्छ । ती कलाकारहरुको आम्दानी पनि राम्रै हुन्छ । एउटा राम्रो स्थापित कलाकारले एउटा महोत्सवमा गएर आफ्नो प्रस्तुती गरेबापतमा आफ्नो चर्चा र स्तरअनुसार कम्तिमा १५ हजारदेखि ८० हजारसम्म प्राप्त गर्दछन् । यो अत्यन्तै राम्रो कुरा हो । अर्को कुरा यसरी कलाकारहरुले पाएको पारिश्रमिकबाट राज्यले कर लिने कि नलिने ? पारिश्रमिकको दररेटलाई सन्तुलन गर्ने कि नगर्ने । कोही थानकोट कटेर नआएका तर स्थानीय स्तरमा बसेर कलाकारिता गरिरहेका कलाकारहरु जसले स्थानीय कला र संस्कृतिका माध्यमबाट दर्शकहरुलाई उत्तिकै मनोरञ्जन प्रदान गर्न सक्दछन्, उनीहरुले पारिश्रमिक पाउने कि नपाउने ? अनि त्यत्तिकै मान सम्मान पाउने कि नपाउने ? मोफसलमा बसेर पनि ऊ राष्ट्रिय हुन सक्ने कि नसक्ने ? यी यावत सवालहरु यद्यपी छँदैछन् । फेरि दुःख लाग्दो कुराहरु पनि उत्तिकै छन् । हामीले कलाकारहरुको प्रस्तुतीमा रमाइरहँदा कलाकारहरुको भित्री पिडा र मर्म त बुझ्नै सक्दैनौं । कहिँ कतै सम्झौता अनुसारका पारिश्रमिक नदिने । आयोजकहरुले राम्रो व्यवहार नगर्ने जस्ता कुराहरु पनि वेलावखतमा आएका छन् ।
अर्को कुरा अश्लितासँगैको कलाकारिताले कसरी हुन्छ कला र संस्कृतिको संरक्षण ? नाङ्गा नाचहरु र खुल्ले आम पातला लुगा अनि एक बित्ताको मिनिस्कर्ट लगाएर छाती र पाँसुला देखाइ बेताल र बेसुरमा गीत गाउने कलाकाहरुबाट संस्कृतिको जर्गेना हुन्छ भन्न कदापी सकिँदैन । यो त निश्चित पुस्ताहरुलाइ भुलाउने नौटङ्की भन्न सकिन्छ । अङ्ग प्रदर्शन गर्दैमा हाम्रो कुन मौलिक संस्कृति जोगिएको हुन्छ ? पाठक वर्ग एकछिन् गम्भिर भएर सोच्नुहोस् त ? अनि यस प्रकारका कार्यक्रम वा महोत्सवबाट के सिक्दछन् तपाईं हाम्रा बालबालिकाहरुले ? के ज्ञान लिन सक्दछन् त विद्यालयस्तरका बालबालिकाहरुले यस्ता अश्लील प्रस्तुतीहरुबाट ?
यति मात्र हैन महोत्सवमा विविध स्थानीय परिकारहरु बेच्ने निहुँमा मादक पदार्थ अर्थात मदिराहरु पनि खुल्ले आम विक्रि वितरण र सेवन गर्नेहरुको पनि उत्तिकै ताँती हुन्छ । मदिरा सेवन गरी मदिराकै तालमा झुम्नेहरुको पनि कमी हुँदैन महोत्सवमा । अझ मदिरारुपी झैझगडाहरुले बेलाबेलामा खैलाबैला मच्चाउने गरेका छन् । कतै कतै सुनिएको छ कि महोत्सव भनेको वर्षभरी विक्रि नभएका, राख्दा राख्दा पुराना भएका सामानहरु विक्रि गर्ने मौका हो । यतिवेला जस्ता सामानहरु पनि विक्रि हुन्छ भनेर व्यापारीहरुले मौकामा चौका हान्न खोज्ने गरका छन् । महोत्सव स्थलको वातावरण नै प्रदुषित हुन्छ भने त्यहाँका खाद्य परिकारहरु कसरी शुद्ध हुन सक्दछन् त ?
यतिखेर जताततै महोत्सवको प्रचारप्रसार भैरहेको देखिन्छ ।
प्रचारप्रसारका अनेकन तरीकाहरु अपनाइएका छन् । जसरी जुन तरीका अपनाइएपनि गत वर्ष फलानो कलाकार आउँदैछन् भनेर प्रचार प्रसार गर्दै शान्ति क्षेत्र मानिएका विद्यालयका परिसरमा पुगी पठनपाठन गतिविधिहरु सञ्चालन भैरहेको अवस्थामा विद्यार्थीहरुलाई यति र उती छुट भन्दै जोडतोडका साथ कक्षाकोठातिर नै लाउडस्पिकर फर्काएर प्रचार गरियो । जसको प्रभावका कारण भोलिपल्ट कक्षाकोठामा विद्यार्थीहरुको उपस्थिति अत्यन्तै न्यून रह्यो । न्यून विद्यार्थीहरु उपस्थित भएका कारण पठनपाठन कार्य सुचारु गर्न नसकिने अवस्था आएको थियो । टिफिनपछि बल्लतल्ल पढ्न आएका विद्यार्थीहरु पनि महोत्सव हेर्नकै लागि भागेर गए । कहिलेकाँही त व्यर्थै प्रचार गरेर कयौं जनताहरुलाई वेवकुफ वनाए आयोजकहरुले पनि ।
अव कुरा रह्यो महोत्सवमा बालबालिकाहरुलाइ बाल उद्यानका नाममा केही घुम्ने पिङहरुबाहेक अरु केही पनि हुँदैन । हुन्छन् त उही बालबालिकाहरुका लगि लक्षित गरी बनाइएका पोके अनहाइजेनिक खाद्य पदार्थहरु । बालबालिकाहरुको ज्ञान, सिप र क्षमता विकासका लागि सयौं स्टलहरु भएपनि कुनैमा पनि न त बाल सामग्री हुन्छन् न त बालबालिकाहरुका लागि ज्ञानमूलक सिक्ने ठाउँहरु ? महोत्सव आयोजकहरुले यसका लगि जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर विद्यालय स्तरमा विज्ञान, खेलकुद, साहित्य सिर्जना, गीत सङ्गीत (गायन, बादन, नृत्य) प्रतियोगिता, असाधारण विद्यालय प्रतिभा खोजी जस्ता कार्यक्रमहरु राख्नु आवश्यक हुन्छ । किनकी बालबालिकाहरु भनेका अपार ज्ञानका भण्डारहरु हुन् । उनीहरुको ज्ञान तथा आन्तरीक क्षमताको विकासका लागि छुट्टै स्टलको व्यवस्था गरेर सम्बन्धित निकायले वर्तमान परिवेशमा शिक्षाको क्षेत्रमा विश्व जगतमा भैरहेका गविविधीहरुका सम्बन्धमा साक्षातकार गराउनु पर्दछ ।
बालबालिकाहरु विद्यालयबाट भागेर यस प्रकारका कार्यक्रममा जाने हुँदा नजिकिँदै गरिरहेका विद्यालय स्तरका परीक्षाहरुको नतिजामा पनि धक्का पुग्ने कुरालाई नकार्न सकिँदैन । यसले पछिल्लो समयमा आएको प्लासको अवधारणालाई पनि असर पार्न सक्ने देखिएको छ ।
यसका लागि सम्बन्धित विद्यालय, शिक्षक तथा अभिभावक अनि सम्बन्धित निकायहरुले यदी बालबालिकाहरुका लागि उपयोगी हुने खालका ज्ञानमूलक सामग्रीहरु राखिएमा मात्र निश्चित तालिका बनाएर सहभागी गराउने व्यवस्था गर्नु पर्दछ । यदी महोत्सवमा हुने नौटङ्की र अश्लिल प्रस्तुतीहरु हेर्नका लागि मात्रै विद्यालयबाट विद्यार्थीहरु भागेर विद्यालयका कक्षाकोठाहरु खाली हुने अवस्थाको जिम्मेवारी कसले लिने ? यस पाटोलाइ सबैले एकपटक गम्भिर भएर सोच्ने हो कि ?
0 Comments