– प्रभात सुवेदी
करोना सङ्क्रमणको ग्राफ ह्वात्तै वृद्धि भैरहको अवस्था छ । हिजोका दिनहरु भन्दा आजका दिनहरु झन बढी त्रासदीपूर्ण हुँदै गइरहका छन् । एकजना पनि सङ्क्रमित नभेटिएको अवस्थामा पनि नेपालमा कोभिड सङ्क्रमणको थप जटिलताबाट जोगाउनका लागि लकडाउनको शुरुवात गरिएको थियो भने अब झन् ९ सयको हाराहारीमा सङ्क्रमितहरु भएका छन् भने ४ जनाको दुःखद निधन भैसकेको छ ।
एकातिर यस्तो अवस्था रहेको छ भने अर्कातिर देशको विभिन्न क्षेत्रहरुमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । यसरी प्रभावित धेरै क्षेत्रहरुमध्ये शिक्षाक्षेत्र पनि हो । गत चैत्र ६ गतेदेखि हुने भनिएको एसइईको परीक्षा यसकै कारण अचानक सूचना जारी गरी चैत्र ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको थियो । जसका कारण परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई निकै समस्या भएको छ । हुनत जीवन नै सबेभन्दा ठूलो कुरा हो । यस्तो महामारीका समयमा भाइबहनीहरुले यस परिस्थितीलाई मध्यनजर गरेर आफूलाई अझै निरन्तर अध्ययनमा नै लगाएर सिक्न बाँकी रहेका विषयहरुका साथै अन्य धेरै व्यवहारिक ज्ञानहरु अग्रजहरुबाट हासिल गर्नु पर्ने अवस्था रहेको छ ।
अब कुरा रह्यो परीक्षा कहिले होला त ? यसका बारेमा अहिले नै कसैले आँकलन गर्न सक्ने अवस्था छैन । कोभिड सङ्क्रमण नेपालमा वृद्धि हुँदै गइरहेको छ । नेपालमै भन्दा पनि नेपाल बाहिरबाट आउने नोपाली नागरिकहरुकै कारणबाट जोखिममा रहेको छ । विशेषगरी अहिलेको अवस्थामा अन्य तेस्रो मुलुकसँग हवाई सम्पर्क विच्छेद नै भएको अवस्था रहेको छ भने भारतसँग रहेको खुला सिमानाका कारण र हप्तौँ पैदलै आफ्ना घरपरिवारका सदस्यहरुसँग भेट्न र घर फर्किन आतुर नेपालीहरुबाट पनि उत्तिकै जोखिम भएको छ । त्यसैले भारतसँग भएको खुला सिमाका कारण आफैँ सजग भइएन भने जुनसुकै बेला पनि हामी सङ्क्रमित हुन सक्दछौँ । सङ्क्रमण फैलिन नदिन यसपूर्व गरिने सावधानीहरु निकै नै महत्वपूर्ण हुने भएका कारणले गर्दा पनि हामी सबैले उच्च सावधानी अपनाउनु जरुरी देखिन्छ ।
विद्यालयहरुले जेनतेन आफ्नो विद्यालयका फेसबुकवालहरुमा वा प्रधानाध्यापक तथा शिक्षकहरुको फेसबुकमार्फत र केही विद्यालयलहरुले आफ्नो वेभपोर्टलका माध्यमबाट नतिजा सार्वजनिक गरेका छन् । यो समयमा अधिकांश संस्थागत विद्यालयहरुले भने नतिजा सार्वजनिक गरेको पाइँदैन । यसका कारणहरुतर्फ नजाऔँ । नतिजाहरु सार्वजनिक भएपनि कहिँ कतै भने कक्षा ८ को स्थानीय तहस्तरीय परीक्षाहरु नै स्थगित भएका छन् । एसइईसँगै गरिने भनिएको कक्षा ८ को परीक्षा एसइई स्थगित भएसँगै स्थगन भएको छ । कति स्थानीय तहहरुले त बैशाख लागे लगत्तै सञ्चालन गर्ने भनेर समय तालिका सार्वजनिक गरेलगत्तै नेपालगञ्जमा थप संक्रमित फेला परेपछि स्थगित गरेका छन् ।
यस्तो अवस्थामा आम अभिभावक र विद्यार्थीहरुका मनमा एउटै प्रश्न उब्जिएको छ, “अब के हुन्छ?” वास्तवमा अव के हुन्छ त ? यसको उत्तर न त तपाईंसँग छ न त मसँग नै । यो त विश्वले नै उत्तर दिन नसकेको प्रश्न हो । बाँकी रह्यो अब यस्तो अवस्थामा विद्यार्थीहरुले के गर्ने त ?
जहाँ समस्या, त्यहाँ नै समाधान हुन्छ । हरेक समस्याले समाधान पनि बोकेर आएको हुन्छ भने जस्तै अहिलेको यो कोभिडले समयमा मानिसहरुले धेरै कुराहरु सिकिरहेका छन् । यो भन्दैमा सबैले सबै कुरा सिकिरहेका छन् भन्न खोजेको हैन । अहिलेको अवस्थामा जुम, गुगल मिटिङ अदि विभिन्न सफ्टवेयरहरुका माध्यमबाट शिक्षाक्षेत्रमा लागेका तथा अन्य सामाजिक कर्महरुमा लागिरहनुभएका व्यक्तित्वहरुले नयाँ नयाँ ज्ञानहरु हासिल गरिरहेका देखिएको छ । कसैले त यसकौ कारणबाट थुपै्रै प्रमााणपत्रहरु पनि प्राप्त गरिरहेका छन् । हो, एकातिर हामी कोभिड सङ्क्रमणका कारण प्रताडित भैरहेका छौँ भने अर्कोतिर यसबाट कसरी सुरक्षित रहन सक्छौँ भनेर घरमै रहेको अवस्थामा नेटका माध्यमबाट हामीले प्रविधिका विभिन्न कुराहरु सिकिरहेका छौँ ।
यसै क्रममा देशभरीबाट विभिन्न स्वयंसेवी शिक्षकहरुले विभिन्न क्लासहरु चालाइरहनुभएको छ । बर्दियामा पनि जुम क्लाउड एपका माध्यमबाट एसइई तयारी कक्षा बैशाख १३ गतेदेखि नियमित रुपमा चलिरहेको छ । जसमा आइतबार नेपाली, सोमबार अङ्ग्रेजी, मंगलबार गणित, बुधबार विज्ञान र विहिबार सामाजिक विषयको पठनपाठन हुने गरेको छ भने शुक्रबार विद्यार्थीहरुको मानसिक विकासका लागि सिर्जनशिल क्षमता उजागर हुने कार्यक्रमहरु गरिने र शनिबार भने विषयगत हाजिरी जवाफ प्रतियोगिता गर्ने गरिएको छ । हालसम्म अङ्ग्रेजी, विज्ञान र गणित विषयको हाजिरी जवाफ प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् । हाजिरी जवाफमा प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गर्ने गरिएको छ ।
जहाँ इच्छा, त्यहाँ उपाय भनिन्छ नि, हो ठिक त्यसैगरी यस प्रकारका कक्षाहरुमा विद्यार्थीहले खोजी खोजी जोडिएर आफूलाई थप उर्जावान र सिर्जनशील बनाउन सक्नुहुनेछ । यसबाट धेरै फाइदा हुन्छ, घरमै बसेर पनि आफूले नजानेका ज्ञानहरु प्राप्त गर्न सकिन्छ भने अर्कोतिर देशभरका विभिन्न साथीहरु तथा गुरुवर्गहरुसँग भेटघाट हुने अवसर प्राप्त हुन्छ । यो पनि निकै महत्वपूर्ण अवसर पनि हो । त्यसैले यो लकडाउनको समय केही सिक्ने समय हो । यो समयलाई जति सक्यो उपलब्धीमूलक बनाउन म आम विद्यार्थी भाइबहिनीहरुलाई मात्रै हैन शिक्षाक्षेत्रका सेवीहरु जो कोहीलााई पनि एक शिक्षकका नाताले अनुरोध गर्न चाहन्छु ।
बाँकी रह्यो परीक्षाको कुरा । परीक्षाको बारेमा अहिले नै कसैले केहि भनिहाल्न सक्ने अवस्था पनि छैन । सङ्क्रमितहरुको संख्यामा यसैगरी वृद्धि हुँदै गयो र नियन्त्रणमा रहेन भनेदेखि यो वर्ष नै परीक्षा नहुने सम्भावना देखिन्छ । यसो भयो भनेर भाइबहिनीहरु निरास हुने र आत्तिने काम गर्नु भएन है । यदि परिस्थिती सहज हुँदै गएको खण्डमा अब दशैंतिहार यता परीक्षाको सम्भावना रहँदैन । मैले यो कुरा किन भनिरहेको छु भने विश्वमै शक्तिशाली राष्ट्रहरु पनि हार खाइरहेको अवस्थामा कोरोना परीक्षणका लागि एउटा किट सम्म पनि बाहिरबाट ल्याउनु पर्ने हाम्रो देशमा कोरोनाले महामारी स्थिति ल्याएको खण्डमा यसको अवस्थाले गम्भीर सङ्कट निम्तिने छ । तसर्थ, हामी सबै सचेत भएर घरमै सुरक्षित तरिकाले रहनु नै सबैभन्दा ठूलो वुद्धिमानी हो । जीवन रहेमा धेरै काम गर्न सकिन्छ, जीवन नै रहेन भने त सबै कुरा सकियो नि हैन र ?
त्यसैले लकडाउनको यो समयलाई सिकाइमय बनाऔँ । परीक्षाहरु भनेका हाम्रो हर पाइला पाइलामा भैरहेका छन् । यो अवस्था पनि प्रकृतिले मानवको परीक्षा लिइरहेको समय हो । यसलाई हामीले सबैले मिलेर सामना गर्न सकियो भने पक्कै पनि हामी पूर्ववत अवस्थामा फर्केर नियमित रुपमा काम गर्न सक्नेछौँ ।
“घरमै बसौँ, सुरक्षित रहौँ ।”
मिति : २०७७/०२/१४ गते बुधबार
मिति : २०७७/०२/१४ गते बुधबार

0 Comments