शिक्षकमात्र छैनन् दोषी ... प्रभात सुवेदी

जिल्लागत क्षेत्रगत आधिकारीक तथ्यहरु सार्वजनिक गरिने क्रम भैरहेको छ । विद्यालयको समग्र शैक्षिक प्रगतीको केन्द्रविन्दु मानिने एसएलसीको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ । नतिजा लगत्तैको बहसका चर्काचर्कीहरु वार्षिक परम्परा जस्तै बनेको छ । यसपालीको एसएलसीको नतिजा पनि सन्तोषजनक रहेन नै । सरकार शिक्षामा जति लचिलो भएको छ, नजिता पनि त्यस्तै गरी लच्किएको छ । कतिपय सामुदायिक विद्यालयहरु त नील नै भए ।
शिक्षाविद्, मन्त्रालयका पदाधिकारीहरु, सम्बद्ध निकायका व्यक्तित्वहरुका अनेकन टिकाटिप्पणीहरु आइरहँदा यो लेखलाई आज यही विषयमा केन्द्रित गर्ने जमर्को गरको छु । कक्षाकोठाबाट बाहिर रहेर कुरा गर्न जति सजिलो छ, कक्षाकोठाभित्र रहेर यसको मर्मलाइ विश्लेषण गर्न त्यति नै गाह्रो भने पक्कै छ । बालमैत्री, शैक्षिक सामग्रीहरु, पाठयोजनाहरु, प्लास, परियोजना कार्य, निरन्तर मूल्याङ्कन आदिका कुराहरु निकै नै गरिन्छन् यहाँ । वास्तवमा गाला बजाएर गफै चुट्नका लागि भने यस प्रकारका अवधारणाहरु ल्याइएको भने पक्कै हैन होला । तर निकै दुःख लाग्दो अनि लाजमर्दा स्थिति भने पक्कै छ । एउटा शिक्षक भएका नाताले आफुबाट भएगरेका कमी कमजारीहरुलाई स्वीकार भने पक्कै गर्नु नै पर्दछ । पानी माथीको ओभानु बन्नु त पक्कै पनि हुँदैन । किनकी एसएलसीको नतिजा त यसपाली त बर्बादै भयो नि भन्दैगर्दा एकजना आफुलाई तल्लो स्तरमा पढाउने शिक्षक भन्दैहुनुहुन्थ्यो, ‘हामीले त पास गराएर पढाएकै हौं, हाम्रो प्राविमा त फेल हुँदैनन् क्यारे, माथिका ले के गरी पढाउँछन् कुन्नी ?’ एकातिर यो कुरा त्यति असान्दर्भिक जस्तो लाग्दैन तर यसको सतही विश्लेषण नगरी गहिराइमा नै पुग्नुपर्दा भने फेरी तीता सत्यहरु धेरै नै फेला पर्दछन् । हामी शिक्षकहरुले यस्ता उत्पादनहरु माथील्ला कक्षामा पठाएका छौं कि जसले सामान्य प्रारम्भिक लिपी नै चिनेका हुँदैनन्, पढ्न र लेख्न त कुरै छाडौं । मलाई थाहा छैन सायद ती विद्यार्थीहरुलाई शिक्षकले नभएर नीतिले उकाल्यो अनि अहिले आएर नराम्रोसँग थेचार्यो । यस खालका तीता संरचनाहरु एकातिर छँदैछन् भने अर्कातिर हामी अध्ययशील भएनौं । आफूलाई समर्पित गरेनौं, बालकालिकाहरुप्रति ध्यान दिएनौं, हामी आँफै कुलतमा फँस्यौं । पढ पढ नानीबाबु ठूलो मान्छै बनौला भनिरह्यौं तर आफुले भने कहिल्यै पनि पढ्ने प्रयास नै गरेनौं । सधै कक्षामा भट्भट्याइरह्यौं, व्याख्या मात्र गरिरह्यौं, टन्न बोर्डमा लेखाइरह्यौं तर बालबालिकाहरुलाई बोल्न, व्याख्या गर्न अनि लेख्न उत्प्रेरित गरेनौं । परीक्षै परीक्षा शनिवारीय परीक्षा, साप्ताहिक परीक्षा, त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा, वार्षिक परीक्षा कति परीक्षा कति परीक्षा लिइरह्यौं तर कहिल्यै ऊनीहरुको नैतिकताको परीक्षा लिने प्रयास गरेनौं । किताब मात्र रट्न सिकायौं, मस्तिष्क फराकिलो बनाउने कुराहरु पढ्न सिकाएनौं । आधुनिक सूचना र प्रविधीका नाममा अनावश्यक कुरामा समय खेल फाल्यौं, हामीबाट पनी त्यही सिके । आवश्यक कुराहरु खोजी गरेनौं र गर्न पनि सिकाएनौं । विद्यालयको आन्तरीक संरचना कहिल्यै रिस्टक्चरिङ गरेनौं र गर्न पनि खोजेनौं । विव्यस र शिअसंको प्रभावकारी भूमिका पाएनौं । उही गठन पुर्नगठनका समयमा हुने राजनैतिक कचिंकल मात्र देख्यौं भोग्यौं । 
त्यसैले शिक्षकहरु चोखा छौं भन्न खोजेको भने पक्कै हैन । तर अब बुझ्नु पर्ने कुरा के छ भने संस्थागत विद्यालयको नतिजा किन सधैं राम्रो आउँछ त ? यसको उत्तर पनि सहज नै छ । केही बहुआयामिक विद्यालयहरुबाहेक संस्थागत विद्यालयहरुलाई नजिकबाट नियाल्ने कोशीष गरेको छौं हामीले । एसएलसी परीक्षा आउनुभन्दा करीब ६÷७ महिना अघिदेखिबाट नै पुरा जेल बराबरको थुनुवाइ हुन्छ, होस्टलमा नै राखिन्छन् बालबालिकाहरु, अनि २४ घण्टा कडा अनुशासन र निगरानीमा राखिन्छन् । समयमा खाना, पढाइ, सुताइ हुन्छ । एक रौं पनि बदमासी गरेमा हस्टल वार्डेनको सजाँय । स्वतन्त्रतालाई पूर्ण रुपमा बिर्सेर एकोहोर रगडाइ सुगा पढाइ । अभिवाकको पैसाको खोलो तर लगाउनुपर्ने र आगामी शैक्षिक शत्रका लागि यश बटुल्ने अभियानका लागि पनि यस खालको रणनीति अख्तियार नगरे व्यवसाय नै धरापमा पर्ने त्रास हुने भएकाले पनि यस प्रकारका संरचनाहरुमा जोडतोडका साथ लाग्नुपर्ने हुन्छ । यही सुगा पढाइको परिणामा हो संस्थागत विद्यालयहरुको सफलताको कहानी । अनि संस्थागत विद्यालयबाट एसएलसी पास गरेका विद्यार्थीहरुको माथील्लो तहमा पुगेपछिको हालत पनि देखेका छौं हामीले । केही मेधावी बाहेक रटन्ते विशिष्टेहरु पछि गएर विष्टै बनेका छन् । अनि यी सबै वेरोजगारी उत्पादन कम्पनी नभएर के हुन सक्दछ त ?  यसबाट पाठकवर्गहरु सहजै बुझ्न सक्नुहुन्छ कि संस्थागत विद्यालयको शिक्षा भनेको घोकन्ते र रटन्ते मात्र छ । शिक्षाको राष्ट्रिय उद्देश्यको पहिले बुँदाले भने बमोजिम प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनाहालाई प्रस्फुटित गर्न सहयोग गर्ने, भनेर भनिएबमोजिम कहाँनिर भएको छ अन्तर्निहित प्रतिभा, अनि व्यक्तित्व विकास ? त्यसैले सबैभन्दा वृहत्तर कुरा के छ भने आचरणको विकासले यस पाटोमा प्रभाव पार्दछ । त्यसैले अध्ययन, अध्यापनको पाटो भनेको बहुआयामिक हुनुपर्ने आवश्यकता रहेको छ । रिजल्टको लगत्तै कुनै एउटा टेलिभिजनबाट परीक्षा नियन्त्रकलाई अन्तर्वातामा सोधिएको थियो कि, ‘राष्ट्रिय उद्देश्य अनि सक्षमतामा आधारित पाठ्यक्रम छ एसएलसी परीक्षा उत्तीर्ण गरेपछि हाम्रा नेपाली बालकालिकाहरुले कुन चाहिँ सक्षमता प्राप्त गरे त नियन्त्रकज्यू ? ’ भनेर अन्तरर्वाताकारले प्रश्न तेर्साइरहँदा नियन्त्रक नाजवाफ भएर आत्तिँदै भने, ‘हो मैले पनि घरको विजुली बिग्रियो भने बनाउन जान्दिन ।’ कुरा यहिँनिर छिपेको छ, पाठकवर्ग यदी यहाँले यो आलेख पढ्दै हुनुहुन्छ भने भनिदिनुस् अनि एकपटक गम्भीर भएर सोचिदिनुस् कि घरको विजुली भनेको के हो ? अनि विजुली कहाँनिर बिग्रिएको हुन्छ ? घरको विजुली बिग्रीने हो कि स्वीच, बोर्ड, तार, एमसिवी, मिटरबक्स वा कतै सर्किट खराब हुने हो ? म पनि अन्तर्वार्ता हेर्दा हेर्र्दै हाँस्न पुगेछु । यस्तो छ लाखौं बालबालिकाहरुको भविष्य फैसला गर्न बसेकाहरुको हालत अनि ... ?
त्यसैले आरोप प्रत्यारोप भन्दा पनि परीक्षाको नतिजा बिग्रीनुका कारणहरु पहिचान गरी जहाँनेर समस्या छ, त्यहीँनेरबाट उपचार शुरु गर्नु पर्दछ । वास्तवमा अहिलेको समाज संवेदनहिन हुँदै गएको छ । ग्रामीण समुदायका अधिकाँश घरका पाका, तन्नेरीहरु रोजगारीका शिलशीलामा विदेशमा रहेका छन्, घरमा भनेका बृद्ध मातापिता अनि महिलाहरु, बालकालिकाहरु मात्रै हुन् । मानिस स्वभावैले स्वतन्त्रता चाहाने प्राणी हो । यो स्वतन्त्रताको कुनै सिमा पनि छैन । त्यसैले आजका बालबालिकाहरुले यो स्वतन्त्रताको दुरुपयोग गरिरहेका छन् । नैतिकता, अनुशासन, आदरसत्कार जस्ता असल बानीहरु एकादेशका कथा भैसकेका छन् । कक्षा ६ मा नपढ्दै विवाह गरिरहेका छन्, कुलत र कुसंस्कारहरुमा फँसिरहेका छन् । समुदाय मुक बनेर बसेको छ । विव्यस, शिअसंघ जस्ता विद्यालयका सरोकार निकायहरु र स्वयं शिक्षकहरुले यस कुरामा ध्यान दिएका छैनौं । आ–आफ्नै ढोल र डम्फु बजाउँदै नाच्दै गरिरहेका छौं । हामी आफुलाई सिमित पार्दै लगिरहेका छौं । विद्यालयमा अभिभावकहरुको उपस्थिति न्यून हुँदै गएको छ । अभिभावकको सक्रियताका लागि कुनै ठोस पहल गर्न सकिरहेका छैनौं । विभिन्न संघ संस्थाहरुले अव विद्याललाई आफ्नो रोजीरोटीको माध्यम बनाइरहेका छन्, ऊनीहरुले गरेको लगानीको सोच राम्रो हो तर मात्र औपचारिकता र फोटो खिचाइमा व्यस्त देखिन्छन् । विद्यार्थीहरुले प्रगती गर्न सकिरहेका छैनन् ।
त्यसैले नतिजा खस्किनुमा शिक्षकहरु मात्रै दोषी छैनन् । शिक्षाको संरचना, अभिभावक, समाजको संरचना र सामाजिक तत्वहरु सवै नै यसका भागीदार हुन् । त्यसै एकोहोरो शिक्षकहरुलाइ मात्रै तारो बनाउन कसैलाई पनि छुट छैन । तर, शिक्षकको खोल ओढेर पेशागत आदर्श, मूल्य र मान्यतालाइ विर्सर हिँड्ने शिक्षकहरुका सवालमा भने सम्बन्धित निकायबाट पहल कदम चालिनु जरुरी छ । तसर्थ, गलितो नतिजाका लागि हामी आफैबाट शुरु गरि अभिभावक, समाज, शैक्षिक नीति सबै गतिलो हुनु पर्दछ । नीति मात्र गतिलो भएर पनि हुँदैन, यसको कार्यान्वन पाटोलाई पनि शुक्ष्म तरीकाले विश्लेषण गरी आगामी दिनमा सरोकारवाला सबैले आम शैक्षिक क्षेत्रलाई सुधार गर्नका लागि एउटा दह्रो सहमति गरेर अगाडि बढ्नु जरुरी भएको छ ।
                                                                                                            subediprabhat@gmail.com

Post a Comment

0 Comments